आईजीपी कार्कीलाई कानुन अनुसार जेल हाल्नुपर्छः सांसद शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार नबनाइ कानुनअनुसार जेल हाल्नुपर्ने प्रतिक्रिया दिएका छन् । 

बुधबार शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आईजीपी कार्कीले कुनै अपराध गरेका भए प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने बताएका हुन्।

'आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो,' उनले भने ।

सरकारले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी)  बनाउने निर्णय गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसी आईजीपी बनेका हुन् । उनी अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

Share News