काठमाडौंमा शव व्यवस्थापनका लागि जंगलको खोजी हुँदै

अमेरिकनले शवगृहबाट हात र खुट्टा लगे

काठमाडौं । रसुवाको भोंटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव जंगलमा राख्ने ठाउँ अभाव भएको छ । गोकर्णेश्वरको जंगलमा राख्दै आएका शवहरू ठाउँ अभाव हुँदा व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा राख्नु परिरहेको नेपाल प्रहरीले जनाएको छ ।

दुई सातादेखि त्रिवि शिक्षण अस्पतालमा राखिएका शव प्रहरीले गोकर्णेश्वरको जंगलमा शव व्यवस्थापन गर्दै आएको थियो । जंगलको खोजी भई नसकेकाले  बाढीमा ज्यान गुमाएकाहरूको शव अस्पतालको शव गृहमा राखिएको एसपी प्रदीप सिंहले जानकारी दिए । 

केही दिनदेखि अस्पतालबाट शव लगेर व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ ।

‘अस्पतालमा राखिएको शव बाहिरसम्म दुर्गन्ध फैलिइरहेको छ,’ उनले भने, ‘शव व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको छ । ठाउँको व्यवस्थापन हुनासाथ यहाँबाट शव लगिन्छ ।’

काठमाडौं र ललितपुरमा शव व्यवस्थापन गर्न ठाउँको खोजी भइरहेको सिंहको भनाइ छ । ठाउँको खोजी हुनासाथबाट अस्पतालबाट शव लगिन्छ । द्रुतगतिमा ठाउँको खोजी भइरहेको उनले बताए ।

त्रिवि शिक्षण अस्पतालमा राखिएको २ सय ३१ वटा शव व्यवस्थापन भइसकेको एसपी सिंहले जानकारी दिए । अस्पतालमा रसुवा, नुवाकोट र धादिङबाट २ सय ९८ वटा शव आएको छ । अस्पतालमा हाल ५५ वटा शव रहेको उनले बताए ।

उनका अनुसार मृतकका आफन्तले २५ वटा शव पहिचान गरेर लगिसकेका छन् । 

अस्पतालमा पछिल्लो केही दिनयता शव आउन छाडेको उनले जानकारी दिए ।

‘दुई–तीनदेखि अस्पतालमा शव आउन छाडेको छ,’ सिंहले विकासन्युजसँग भने,‘ शवको पहिचान गर्न र खोजी गर्न मानिसहरू आउन छाडेका छन्।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले हाललाई अस्पतालमा शव राख्न सक्ने ठाउँ पर्याप्त रहेको बताउँछन् ।

‘अहिले अस्पतालमा राखिएको शवलाई धान्न सक्ने ठाउँ छ,’ उनले भने, ‘अहिलेको भन्दा बढी संख्यामा शव आएमा व्यवस्थापनमा थप चुनौती बन्ने देखिएको छ ।’

उनका अनुसार केही शवहरू रेफ्रीजेरेटर र कन्टेनरमा राखिएको छ । 

‘शव व्यवस्थापन गर्ने ठाउँ पनि खोजिरहेका छौं । शव राख्ने ठाउँ भेट्नसाथ हामीले लगेर व्यवस्थापन गरिहाल्नेछौं,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भन, ‘ संवेदनशीलताको हिसाबले पनि शव कता राख्ने भनेर अहिले खुलाउन मिल्दैन ।’

यसअघि पनि शव राख्ने ठाउँको स्थान तय भएपछि मात्र शवको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

नेपाल प्रहरीले त्रिवि शिक्षण अस्पतामा राखिएको शव गोकर्णेश्वरमा व्यवस्थापन गर्दै आएको थियो।

अमेरिकनले लगे शवबाट हात र खुट्टा

अमेरिकन फरेन्सिक ल्यावका विज्ञहरूले त्रिवि शिक्षण अस्पतालको शव गृहबाट शवको टुक्राबाट हात र खुट्टा लगेका छन् । दुई दिनअघि आएका विज्ञ टोलीले क्षत विक्षत शरीरका हात र खुट्टा लगेका एसपी सिंहले जानकारी दिए ।

अस्पताल प्रशासनसँग समन्वय गरेर उनीहरूले शवबाट छुट्टिएका हात र खुट्टा लगेको उनले जानकारी दिए । अस्पतालको शवगृहमा अमेरिकन फरेन्सिक विज्ञहरू २ देखि ३ घण्टा अस्पतालमा बसेको उनको भनाइ छ ।

‘फरेन्सिक विज्ञहरूले अटोमेटिक मेसिन लिएर आएका थिए,’ उनले भने, ‘मेसिनबाट हात र खुट्टा टिपेर लगेका थिए । आफन्तलाई हात र खुट्टाको पहिचान गर्न सहज हुन्छ ।’

रसुवामा भदौं १० गते आएको बाढीमा परेर हालसम्म १ हजार ३८५ जनाले ज्यान गुमाएका छन् । ५ हजार १३० जना बेपत्ता भएका छन् । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार १३ हजार ६७६ जनाको उद्धार गरिएको छ । तीनवटै सुरक्षा निकायबाट गरेर कुल २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share News