बिजुलीको इतिहास अब पर्यटकीय हब, डेढ अर्ब बढीको गुरुयोजना

काठमाडौं । नेपालको विद्युत उत्पादन इतिहाससँग जोडिएको फर्पिङ जलविद्युत केन्द्रलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढेको छ । 

दक्षिणकाली नगरपालिकाले फर्पिङ क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटेर एकीकृत पर्यटन गन्तव्य बनाउने पहल थालेको हो  ।

यता नेपाल विद्युत प्राधिकरणले पनि ऐतिहासिक विद्युत गृहलाई ऊर्जा संग्रहालयका रूपमा विकास गर्ने योजना बनाएको छ ।

प्राधिकरणले फर्पिङ जलविद्युत केन्द्रको संरक्षण, पुनःस्थापना र पर्यटकीय पूर्वाधार निर्माणका लागि १ अर्ब ६५ करोड रुपैयाँ लागतको गुरुयोजना तयार गरेको प्राधिकरणका नायव प्रवन्ध निर्देशक मदन तिमिल्सिनाले जानकारी दिए । 

गुरुयोजनामा ऐतिहासिक विद्युत गृहको जीर्णोद्वार, ऊर्जा संग्रहालय, पार्क, जिपलाइन, पुस्तकालय, रेस्टुरेन्ट, बाल उद्यान तथा अन्य मनोरञ्जनात्मक संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

तिमिल्सिनाका अनुसार ३२४ रोपनी क्षेत्रफलमा उक्त गुरु योजना कार्यान्वयन गरिनेछ । प्राधिकरणकै भगिनी संस्था एनइए इन्जिनियरिङले उक्त गुरुयोजना तयार गरेर प्राधिकरणलाई बुझाइसकेको छ ।

विसं १९६८ जेठ ९ गते सञ्चालनमा आएको फर्पिङ जलविद्युत केन्द्र नेपालको पहिलो जलविद्युत आयोजना हो । 

तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले उद्घाटन गरेको यो आयोजना ५०० किलोवाट क्षमताको थियो ।

दुईवटा २५० किलोवाट क्षमताका टर्बाइनबाट विद्युत उत्पादन गर्ने यस केन्द्रले लामो समयसम्म काठमाडौंको विद्युत आपूर्तिमा योगदान पुर्याएको थियो । २०३८ देखि यहाँ विद्युत उत्पादन बन्द भएको हो । 

प्राधिकरणका अनुसार डेमोको रूपमा कहिलेकाहीँ मात्रै बिजुली उत्पादन गरिन्छ ।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको यस केन्द्रलाई संरक्षण गरी ऊर्जा क्षेत्रको ऐतिहासिक सम्पदाका रूपमा स्थापित गर्ने प्राधिकरणले योजना बनाएको हो । 

प्रस्तावित संग्रहालयमा पुराना मेसिनरी, टर्बाइन, जेनेरेटर तथा विद्युत उत्पादनसँग सम्बन्धित ऐतिहासिक सामग्री प्रदर्शन गर्ने अवधारणा गुरु योजनामा समेटिएको छ । 

नायव महाप्रबन्धक तिमिल्सिनाका अनुसार यसबाट नेपालको जलविद्युत विकासको इतिहास अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ ।

नगरपालिकाको प्राथमिकतामा एकीकृत पर्यटन विकास

प्राधिकरणले जलविद्युत केन्द्रलाई केन्द्रमा राखेर योजना अघि बढाइरहँदा दक्षिणकाली नगरपालिकाले भने समग्र फर्पिङ क्षेत्रलाई पर्यटनको आकर्षक गन्तव्य बनाउने तयारी गरेको छ ।

नगरपालिकाले फर्पिङमा रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान गरी पर्यटन म्यापिङको काम अघि बढाएको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार क्षेत्रका पर्यटकीय स्थललाई एकीकृत रूपमा जोडेर पर्यटकलाई सहज भ्रमणको व्यवस्था गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले फर्पिङ जलविद्युत केन्द्रसँगै शेषनारायण मन्दिर, असुर गुफा, बौद्ध गुम्बा तथा आसपासका धार्मिक र प्राकृतिक क्षेत्रलाई पर्यटन विकासको आधारका रूपमा लिएको छ । 

दक्षिणकाली मन्दिरलाई समेत जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको सर्किट विकास गर्न सकिने नगरपालिकाको अवधारणा छ । 

नगर प्रमुख मोहन बस्नेतले प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

नगरपालिकाको योजनाअनुसार पर्यटकीय स्थलहरूको पहिचान र म्यापिङपछि तिनलाई व्यवस्थित भ्रमण मार्गका रूपमा विकास गर्ने बस्नेतले बताए ।

यसले काठमाडौं उपत्यकाबाट नजिकैको गन्तव्य खोज्ने आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणको जग्गामा पर्यटकीय पूर्वाधार

फर्पिङ जलविद्युत केन्द्र आसपास नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ३२४ रोपनी जग्गालाई समेत पर्यटन विकासमा उपयोग गर्ने प्रस्ताव गरिएको नायव प्रवन्ध निर्देशक तिमिल्सिनाले जानकारी दिए । 

गुरुयोजनामा ऐतिहासिक विद्युत गृह र जलाशय क्षेत्रलाई व्यवस्थित गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने संरचना निर्माणको अवधारणा अघि सारिएको छ । 

तिमिल्सिनाका अनुसार प्राधिकरणले स्थानीय सरकार र बासिन्दासँग सहकार्य गरेर गुरुयोजना सम्पन्न गर्न चाहेको छ।

तर प्राधिकरणले आफूहरूसँग सहकार्य गर्न नचाहेको उनले बताए । स्थानीय जग्गाको उपयोग सम्वन्धमा नगरपालिका र प्राधिकरणबीच वेमेल रहेको स्थानीयहरूले बताए । 

नगर प्रमुख बस्नेतले पनि उक्त जग्गा उपयोगमा प्राधिकरणले नगरको राय बुझ्न नचाहेको बताए ।

यता दक्षिणकाली नगरपालिका वार्ड नम्वर ३ का वडा अध्यक्ष प्रचण्डमान बस्नेत पनि प्राधिकरण जग्गाको विषयमा सहकार्य गर्न तयार नभएको बताउँछन् । 

उनका अनुसार यस क्षेत्रको विकास जग्गा व्यवस्थापन र उपयोगमा प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य नगरेका कारण रोकिएको छ । 

नायव महाप्रबन्धक तिमिल्सिनाले गुरुयोजना प्रारम्भिक चरणमै रहेको र कार्यन्वययनमा जाँदा नगरपालीकासँग सहकार्य हुने जानकारी दिए ।

तर प्रस्तावित योजनामा ऐतिहासिक संरचनाको संरक्षणसँगै हरियाली पार्क, पिकनिक क्षेत्र, जिपलाइन, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माणमा प्राधिकरणले सहयोग मागे आफूहरू तयार रहने वडा अध्यक्ष बस्नेत बताउँछन् ।

नायब प्रबन्ध निर्देशक तिमिल्सिनाले गुरुयोजनामा प्रस्ताव गरिएका सबै संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन, कार्यान्वयनको चरणबद्ध योजना र निर्माण समयतालिका सार्वजनिक हुन बाँकी रहेको बताए ।

Share News