काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।
प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु जे ६ टी मोडलको एसयूभी जाँच गर्ने क्रममा डिक्कीमा राखिएका लगेजभित्र लुकाइएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो ।
कालो रङको लगेजभित्र लत्ताकपडासँगै सेतो प्लास्टिकले बेरिएका पाँचवटा पोका फेला परेका थिए । प्रहरीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम पदार्थ बरामद गरेको जनाएको छ ।
प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३, सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११, कोलटाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ ।
बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।