काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा परिचित छठको तयारीसँगै मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
पर्वको तयारीस्वरूप स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् ।
बाँसका भाटा र झिक्राको प्रयोग गरी घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी तथा गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको स्थानीय बताउँछन् । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
यसैगरी, छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजाका सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बिक्रीसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो ।
घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवालगायत प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ ।
मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट छठको सुरुवात हुन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घय अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घय दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल तथा कल्याण गर्ने जनविश्वास रहिआएको छ ।