नरेश भट्ट दोषी ठहर, मार्चमा सजाय सुनाइने

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएकी नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् ।करिब छ सातासम्म चलेको सुनुवाइपछि अदालतले भट्टलाई दोषी ठहर गरेको हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार १० नोभेम्बर २०२६ मा आएको फैसलाले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा शव विकृत बनाउने अभियोगमा दोषी प्रमाणित गरेको छ।

यसअघि भट्टले पत्नीको हत्या गरेको आरोप अस्वीकार गर्दै आएका थिए। यद्यपि, उनले ममताको शव टुक्र्याएर फोहोरमा फालेको भने स्वीकार गरेका थिए । हत्याको आरोप अस्वीकार गरे पनि जुरीले उपलब्ध प्रमाण र सुनुवाइका क्रममा प्रस्तुत गरिएका तथ्यका आधारमा उनलाई दोषी ठहर गरेको हो ।

ममता सन् २०२४ जुलाईमा अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा रहेको आफ्नै घरबाट अचानक बेपत्ता भएकी थिइन् । उनको खोजीका क्रममा प्रहरीले पति नरेश भट्टमाथि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा ममताको हत्या भएको आशंका बलियो बन्दै गएको थियो । तर, घटनाको अनुसन्धान र अदालती प्रक्रिया अघि बढिसक्दा पनि उनको शव फेला परेको छैन ।

शव नै फेला नपरेको अवस्थामा चलेको यो मुद्दा अमेरिकी न्यायिक प्रक्रियामा चासोको विषय बनेको थियो । अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका प्रमाण र साक्षीका बयानपछि जुरीले भट्टलाई दोषी ठहर गरेको हो ।

मुद्दाको सुनुवाइका क्रममा करिब छ सातासम्म अदालतमा बहस भएको थियो । पिपुल पत्रिकाका अनुसार यस अवधिमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएका थिए ।

लामो सुनुवाइपछि आएको फैसलासँगै भट्टको कसुर अदालतबाट प्रमाणित भएको छ । अब उनीमाथि हुने सजाय निर्धारणको प्रक्रिया बाँकी छ ।

अदालतले भट्टको सजाय सुनाउन सन् २०२७ मार्च १२ को मिति तोकेको छ । प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएकाले उनलाई आजीवन कारावारको सजायसम्म हुन सक्नेछ ।

ममताको बेपत्ता अवस्थादेखि हत्या अनुसन्धान, शव फेला नपर्नु र लामो न्यायिक सुनुवाइसम्मका घटनाले यो प्रकरणलाई अमेरिकामा रहेका नेपाली समुदायका लागि पनि चासो र चिन्ताको विषय बनाएको थियो । अब मार्चमा हुने सजाय निर्धारणले यस मुद्दाको अर्को महत्वपूर्ण कानुनी चरण पूरा गर्नेछ ।

Share News