काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातअघि नै निराहार व्रत सुरु गरेका व्रतालुले आज सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न गरेका हुन् ।
महोत्तरीसहित तराई मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए । यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरेपछि व्रतालु छठी घाटबाट घर फर्किएका छन् । घर फर्किएपछि उनीहरूले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । यससँगै छठको प्रसाद बाँड्ने र ग्रहण गर्ने क्रम सुरु हुन्छ ।
छठ पर्वको सुरुआत कात्तिक शुक्ल चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो भोजन गरेर व्रतको सङ्कल्प गर्ने ‘नहाय–खाय’ विधिबाट हुन्छ । पञ्चमी तिथिका दिन राति एक छाक मात्र नुन नहालेको भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिन्छ । त्यसपछि षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ ।
मिथिलामा षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ ।
छठ पर्वमा ठकुवा, भुसुवालगायतका परिकार, केरा तथा अन्य फलफूल र माटोको भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइन्छ । सूर्यदेवलाई अर्पण गरिएका यिनै सामग्री प्रसादका रूपमा ग्रहण तथा वितरण गरिन्छन् ।
मिथिला क्षेत्रमा छठको प्रसाद बाँड्ने परम्परा विशेष महत्वका साथ मनाइन्छ । छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा प्रसादको ‘भार’ अर्थात् सोली पठाउने चलन छ । छठको प्रसाद खाने र खुवाउने क्रम मिथिला क्षेत्रमा महिनौँसम्म चल्ने गर्दछ ।
छठ पर्वको व्रत र सूर्य उपासनाबाट सुख, शान्ति तथा समृद्धि प्राप्त हुने र रोगव्याधबाट मुक्ति मिल्ने धार्मिक तथा सामाजिक जनविश्वास रहिआएको छ ।