काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका तीन जना अधिकृत आज यूएई प्रस्थान गरेका छन् । यूएईमा नोभेम्बर १६ देखि १८ सम्म विश्व प्रहरी शिखर सम्मेलन हुँदैछ ।
सम्मेलनमा सहभागी हुन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज काफ्ले र लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द राउत आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यसअघि उक्त सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ शुक्रबार नै यूएई गइसकेका छन् । मन्त्री गुरुङको भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र मन्त्रीका स्वकीय सचिव जेम्स कार्की सहभागी छन् । गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यसअघिका वर्षहरूमा विश्व प्रहरी शिखर सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) नै सहभागी हुने प्रचलन रहेकोमा यसपटक भने आईजीपी डा. मनोज केसी सम्मेलनमा सहभागी भएका छैनन् ।