लुम्बिनीको सांस्कृतिक पहिचान बोकेको डल्ले सरायँ, पुस्तौँ पुरानो परम्परा जोगाउँदै प्यूठान

काठमाडौं । ढोल र मादलको तालमा तरबार नचाउँदै ‘वाख्खै वाख्खै’को सामूहिक गुञ्जन। फूलमाला पहिरिएका युवादेखि वृद्धसम्मको सहभागिता। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यही मौलिक सांस्कृतिक परम्पराले भाइटीकाको भोलिपल्ट प्यूठानको पुण्यखोलालाई उत्सवमय बनाएको थियो। डल्ले सरायँका रूपमा परिचित यो मेला मनोरञ्जनको पर्व मात्र होइन, लुम्बिनी प्रदेशको सांस्कृतिक विविधता, ऐतिहासिक स्मृति र स्थानीय पहिचानको जीवन्त अभिव्यक्ति पनि भएको स्थानीय बुढापाकाहरू बताउँछन्।

प्यूठानको पुण्यखोलामा यस वर्ष पनि परम्परागत उल्लास र सांस्कृतिक रौनकका साथ डल्ले सरायँ मेला सम्पन्न भएको छ। तरबार नचाउँदै परम्परागत भाकामा प्रस्तुत गरिने सरायँ नाच र ‘वाख्खै’को लयले मेलामा सहभागीलाई मात्रै होइन, प्यूठानको मौलिक संस्कृति र इतिहासलाई समेत जोडेको स्थानीय शङ्करबहादुर जिसी बताउँछन्।

लुम्बिनी प्रदेशको सांस्कृतिक पहिचान यहाँका विभिन्न समुदायले पुस्तौँदेखि जोगाउँदै आएका चाडपर्व, लोकनृत्य, जात्रा र परम्परामा पनि प्रतिबिम्बित हुने जिसीको बुझाइ छ। उनका अनुसार त्यही सांस्कृतिक विविधताको एउटा विशिष्ट उदाहरण हो, प्यूठानको डल्ले सरायँ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यो परम्पराले स्थानीय इतिहास, लोकविश्वास र सामूहिक सांस्कृतिक जीवनलाई एकै ठाउँमा जोडेको छ।

डल्ले सरायँको विशेषता यसको प्रस्तुति र सामूहिक सहभागितामा देखिने प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालको बुझाइ छ। उनका अनुसार गाउँका दिदीबहिनीले मेलामा सहभागी पुरुषलाई फूलमाला लगाइदिने चलन छ। माला पहिरिएका पुरुष हातमा तरबार लिएर ढोल र मादलको तालमा नाच्छन्। ‘वाख्खै वाख्खै’ भन्दै प्रस्तुत गरिने सामूहिक नृत्यले पुण्यखोलाको फाँटलाई सांस्कृतिक उत्सवमा परिणत गरेको भुसालले बताए।

युवादेखि वृद्धसम्मको सहभागिताले यो परम्परा कुनै एउटा पुस्तामा सीमित नरहेको देखाउँछ। आधुनिक मनोरञ्जनका माध्यम विस्तार भइरहेका बेला पनि नयाँ पुस्ता आफ्नै मौलिक नाच र संस्कृतिसँग जोडिनु डल्ले सरायँको महत्त्वपूर्ण पक्ष रहेको जिसी बताउँछन्।

राजा हटाएको खुसीयालीसँग जोडिएको लोकइतिहास

डल्ले सरायँको सुरुवातबारे स्थानीय समुदायमा विभिन्न किंवदन्ती प्रचलित रहेको स्थानीयवासीले बताए। स्थानीय बुढापाकाहरूका अनुसार भित्रिकोटमा राजकाज चलाइरहेका अलोकप्रिय राजालाई स्थानीयले पदच्युत गरी डल्लेको फाँटमा ल्याएर मारेपछि त्यसको खुसीयालीमा तरबार नचाउँदै ‘वाख्खै’ भनेर उत्सव मनाउने परम्परा सुरु भएको हो।

त्यही घटनाको स्मरणमा सुरु भएको सरायँ नाच कालान्तरमा सामूहिक सांस्कृतिक उत्सवका रूपमा विकसित भएको स्थानीयको भनाइ छ। यद्यपि यसको उत्पत्तिबारे पर्याप्त लिखित ऐतिहासिक अभिलेख उपलब्ध छैनन्। स्थानीय लोकश्रुतिअनुसार यो नाच तेह्रौँ शताब्दीको अन्त्यतिरदेखि प्रचलनमा रहेको मानिन्छ।

यस अर्थमा डल्ले सरायँ एउटा नृत्य वा मेला मात्रै होइन, स्थानीय समाजले आफ्नो इतिहासलाई मौखिक परम्परामार्फत पुस्तान्तरण गर्दै आएको सांस्कृतिक माध्यम पनि हो। यसले समुदायको सामूहिक स्मृति, एकता र परम्पराप्रतिको अपनत्वलाई अभिव्यक्त गर्ने जिसीको विचार छ।

संरक्षणमा नगरपालिका, पाठ्यक्रमदेखि प्रतियोगितासम्म

पछिल्लो समय डल्ले सरायँको संरक्षण र प्रवर्द्धनलाई संस्थागत गर्ने प्रयास पनि भइरहेको छ। विसं २०७० देखि मेलालाई प्रतियोगितात्मक स्वरूपमा सञ्चालन गर्न थालिएको हो। यस वर्ष सात समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा खैरा समूह प्रथम, सापडाँडा समूह द्वितीय र पाण्डेडाँडा सरायँ समूह तृतीय भए। प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ। अन्य सहभागी समूहलाई पनि प्रोत्साहनस्वरूप २० हजार रुपैयाँका दरले पुरस्कार दिइएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले डल्ले सरायँको संरक्षण र प्रवर्द्धनका लागि वार्षिक पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ। यसको महत्त्व नयाँ पुस्तालाई बुझाउन स्थानीय पाठ्यक्रममा समेत समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार नगरपालिकाले डल्ले सरायँलाई सांस्कृतिक पर्यटनको आकर्षणका रूपमा विकास गर्ने नीति लिएको छ। स्थानीय संस्कृति र परम्परालाई पर्यटनसँग जोड्न सके यसले प्यूठानको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताए।

स्थानीय परम्परादेखि प्रदेशको सांस्कृतिक सम्पदासम्म

लुम्बिनी प्रदेशको सांस्कृतिक पहिचान बुद्ध जन्मस्थल लुम्बिनीसँग मात्रै सीमित छैन। पहाडी भूगोलका लोकपरम्परा, विभिन्न समुदायका सांस्कृतिक अभ्यास, जात्रा, पर्व र मौलिक नृत्यले पनि प्रदेशको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको स्थानीय संस्कृतिका ज्ञाता डा. हरिप्रसाद भण्डारी बताउँछन्। डा. भण्डारीका अनुसार प्यूठानको डल्ले सरायँ त्यही विविधताको एउटा महत्त्वपूर्ण प्रतिनिधि हो।

यस्ता परम्पराको संरक्षणमा स्थानीय समुदायको सक्रियता जति आवश्यक छ, राज्यको संस्थागत पहल पनि उत्तिकै महत्त्वपूर्ण रहेको डा. भण्डारीको मत छ। उनका अनुसार लोकसंस्कृतिको अभिलेखीकरण, ऐतिहासिक पृष्ठभूमिको अध्ययन, नयाँ पुस्तालाई हस्तान्तरण र सांस्कृतिक पर्यटनसँगको सम्बन्ध विस्तारले डल्ले सरायँको पहिचानलाई अझ व्यापक बनाउन सक्छ। 

Share News