काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर स्वदेश फर्किएका छन् ।
तुर्किएमा भइरहेको सम्मेलनका क्रममा जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा उनले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ (Fiscal Space for Resilience) सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री वाग्लेले विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गरिरहेकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ ।
त्यस्तै, कोप–३१ मा नेपालले उठाएका जलवायु मुद्दामा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्विडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।
अर्थमन्त्रीले हरित जलवायु कोषको उच्च नेतृत्वसँग पनि नेपालको भावी कार्यक्रमका विषयमा छलफल गरेका थिए । यस्तै, जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा सम्बोधन गरेका थिए । उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिएको जनाइएको छ ।
जलवायु परिवर्तन र अर्थशास्त्रका क्षेत्रमा ख्यातिप्राप्त प्राध्यापक योहान रक्स्त्रम र निकोलस स्टर्नसँग पनि अर्थमन्त्री वाग्लेले भेटघाट गरेका थिए ।
सम्मेलनका क्रममा उनले अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सलाई अन्तर्वार्तासमेत दिएका थिए । सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भएका थिए ।