२२ करोड रुपैयाँको हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य पर्ने ५.५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनी गत कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका थिए । हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुबाट लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा यात्रुहरूको विवरण विश्लेषण (प्रोफाइलिङ) गर्ने क्रममा उनीमाथि शंका लागेको थियो ।

त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्दा उनले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको ५.५ किलो सेतो हेरोइन फेला परेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले २२ करोड रुपैयाँ रहेको छ ।

अनुसन्धानका क्रममा उनी यसअघि पनि दुई पटक नेपाल आएको खुलेको छ । उनी लाओसबाट पहिलो पटक हवाई मार्ग हुँदै र दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको ब्युरोले जनाएको छ ।

उनको साथबाट एउटा पासपोर्ट र एउटा मोबाइल फोनसमेत बरामद भएको छ ।

ब्युरोका अनुसार पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ । उनीसँग मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार उनीमाथि १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

Share News