सात महिनामा विपद्का घटनामा ४०८ जनाको मृत्यु, १७ जना अझै बेपत्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कार्तिक २९ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा ४०८ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । यस अवधिमा विपद्का कारण २ हजार ६२४ जना घाइते भएका छन् भने १० हजार २१० परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा देशभर ८ हजार ९ घटनाहरू अभिलेख भएका छन् ।तथ्यांकअनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । सात महिनाको अवधिमा सवैभन्दा धेरै सर्पदंशका १ हजार ७ सय ८ घटना हुँदा १ सय १६ जनाको मृत्यु भएको छ । 

आगलागीका १ हजार ८७५ घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७६ परिवार प्रभावित भएका छन् । त्यस्तै, पहिरोका १ हजार ७४९ घटनामा ७७ जनाको मृत्यु, तीन जना बेपत्ता र ७८ जना घाइते भएका छन् । यस्तै, बाढीका ४६६ घटनामा ४१ जनाको मृत्यु, ११ जना बेपत्ता र २१ जना घाइते भएका छन्। 

चट्याङका ३३८ घटनामा ३६ जनाको मृत्यु भएको छ भने २१० जना घाइते भएका छन् । जनावरको आक्रमणका ४३४ घटनामा २६ जनाको मृत्यु र २८० जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ ।

यसैगरी, लेक लाग्ने ८२ घटनामा २७ जनाको मृत्यु भएको छ भने हिउँपहिरोका सात घटनामा १९ जनाको ज्यान गएको छ । भारी वर्षाका ५९५ घटनामा सात जनाको मृत्यु भएको छ। डुङ्गा पल्टिने दुई घटनामा पाँच जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् ।

त्यस्तै, वन डढेलोका १९५ घटनामा एक जनाको मृत्यु भएको छ । विस्फोटनका दुई घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्। भूकम्पका नौ घटनामा मानवीय मृत्यु नभए पनि २९ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार रसुवा–भोटेकोशी बाढीबाट भएको विस्तृत क्षतिको विवरण प्रणालीमा समावेश गर्न बाँकी रहेकाले विपद्का घटनाबाट भएको वास्तविक मानवीय तथा भौतिक क्षति योभन्दा बढी रहेको छ । 

Share News