कुरियरमार्फत विदेश सामान पठाउँदा घुस, त्रिभुवन विमानस्थलका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले वैदेशिक हुलाक शाखा, डिल्लीबजारका भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले दुवै कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले आफ्नो पद तथा ओहोदाको दुरुपयोग गरी आपसी मिलेमतोमा सेवाग्राहीको सामान विदेश पठाउन विभिन्न बहाना बनाउँदै बार्गेनिङ गरी घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार दुवै कर्मचारीले पूर्वयोजना तथा सहमतिअनुसार घुसबापत ९ हजार ५०० रुपैयाँ लिएका थिए ।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले ९ हजार ५०० रुपैयाँ बिगो कायम गरेको छ ।

आयोगले दुवै प्रतिवादीलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजाय हुन मागदाबी गरेको छ । 

Share News