काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक संरचनाभन्दा बाहिर गतिविधि गर्ने र कांग्रेसको सदस्यता कायम राख्दै अर्को राजनीतिक दलमा आबद्ध हुने नेता–कार्यकर्तालाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले एउटै पार्टीका नाममा दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारे। उनले पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्दै सबैलाई एकताबद्ध बनाउने प्रयास जारी रहे पनि त्यसको निश्चित सीमा रहेको बताए।
उनको अभिव्यक्ति निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा आएको हो। थापाले उक्त गतिविधिलाई कांग्रेसको आधिकारिक महाधिवेशनका रूपमा स्वीकार गर्न नसकिने संकेत गर्दै पार्टीको विधान र निर्णयअनुसार अघि बढ्न आग्रह गरे।
थापाले विशेष महाधिवेशनमा सहभागी भए वा नभएको आधारमा कसैलाई विभेद नगरिने तर कांग्रेसको सदस्यता कायम राखेर अर्को दलको चुनावी गतिविधिमा संलग्न हुनेलाई भने कारबाही गरिने बताए।
‘कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले भने, ‘हिजो विशेष महाधिवेशनमा भाग लिनुभयो वा भएन, पछिल्लो महाधिवेशनमा सहभागी हुनुभयो वा भएन भन्ने कुरा मुख्य होइन। कांग्रेसको सदस्य भएर अर्को पार्टीको चुनावमा जानुभयो भने विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।’
उनले राष्ट्रिय सभा र स्थानीय तहमा निर्वाचित केही जनप्रतिनिधिले देउवा पक्षलाई साथ दिएको सन्दर्भमा समेत पार्टी विधानको पालना गर्नुपर्नेमा जोड दिए।
सभापति थापाले पार्टीभित्र मतभिन्नता राख्ने र असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई समेट्ने प्रयास आफूले गरिरहेको पनि बताए। फरक धारमा रहेका नेताहरूको कुरा सुनेर सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले पार्टीको एकताका लागि आफू अझै प्रयासरत रहने बताए।
‘एकपछि अर्को गर्दै साथीहरूको कुरा सुन्दै, जोड्दै यहाँसम्म आइपुगेको हुँ। अझै पनि जोड्ने प्रयास गर्छु। तर त्यसको पनि एउटा सीमा हुन्छ,’ थापाले भने।
देउवा समूहको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी