काठमाडौं । सरकारले भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तु मिसाउने तथा थप्ने गतिविधि नियन्त्रण गर्न भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार (आज) प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’माथिको दफावार छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनका अनुसार भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेका छन् ।
उनले भैरहवा भन्सारबाट सामान लिएर आएको एउटा गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आयात भएका सामानको विवरण र ढुवानी गर्ने सवारीसाधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
‘भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भीसीटीएसलाई आबद्ध गर्न आवश्यक छ । प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण भीसीटीएसमा स्वतः प्रविष्ट हुने व्यवस्था गर्न सकिन्छ,’ उनले भने ।
सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुको विवरण भीसीटीएसमा प्रविष्ट गर्ने र भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँग जोडेर अनुगमन गर्ने व्यवस्था उपयुक्त हुने बताए ।
उनले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि स्पष्ट पारे । भन्सारबाट वैधानिक रूपमा आयात भएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरे पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताए ।
चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ ।
त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड लागू गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए ।
आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन गर्नुअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा समेट्नुपर्ने उनको सुझाव छ ।
हरेक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रक्रिया अनावश्यक रूपमा लामो हुन सक्ने भन्दै उनले सम्बन्धित सरोकारवालालाई पूर्वजानकारी दिएर मापदण्ड कार्यान्वयन गर्ने व्यवस्था गर्न समितिका सदस्यहरूलाई आग्रह गरे ।
मंगलबार अर्थ समितिमा उक्त विधेयकमाथि दफावार छलफल भएको हो ।