काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आन्तरिक राजस्व कार्यालय, ललितपुर १ अन्तर्गतका करदातामध्ये सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपेलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानपत्र प्रदान गरिएको हो ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय, ललितपुर १ ले फोनपेलाई उक्त सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन तथा आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्याएको योगदानको प्रशंसा गर्दै फोनपे परिवारप्रति आभार व्यक्त गरे ।
फोनपे यसअघि पनि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भइसकेको छ । काठमाडौंमा आयोजित आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट कम्पनी सम्मानित भएको थियो ।
नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली सञ्चालकका रूपमा फोनपेले डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा व्यापक व्यापारी सञ्जालमार्फत कम्पनीले डिजिटल वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्दै आएको जनाएको छ ।
फोनपेले निकट भविष्यमा सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणमा जाने तयारीसमेत गरिरहेको छ । कम्पनीका अनुसार आईपीओले संस्थागत पारदर्शिता, सुशासन र कम्पनीको विकास यात्रामा सर्वसाधारणको सहभागिताका लागि अवसर सिर्जना गर्नेछ ।
सर्वाधिक आयकर योगदानका लागि प्राप्त सम्मानले संस्थागत उत्तरदायित्व, वित्तीय पारदर्शिता तथा नेपालको आर्थिक विकासमा योगदान पुर्याउने फोनपेको प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।