काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कृष्ण उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।
संस्थाको सञ्चालक समितिको ३१७औँ बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । मंसिर ४ गते बसेको बैठकले उनको राजीनामा मंसिर १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।
उप्रेतीले व्यक्तिगत तथा घरायसी समस्याका कारण प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएको संस्थाले जनाएको छ ।
उप्रेती २०७९ पुस ४ गतेदेखि पुनः नियुक्त भई संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए ।
उनको राजीनामापछि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि न्यौपानेले मंसिर १६ गतेदेखि कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्ने संस्थाले जनाएको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले यसअघि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको थियो ।