काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजना रोकिए मधेशका जनता आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का रद्द गर्ने सरकारी निर्णयबारे भएको छलफलमा बोल्दै सांसद झाले आयोजना रोकिँदा मधेशका किसानको वर्षौंदेखिको सिँचाइको सपना प्रभावित हुने बताएका हुन् ।
‘यो आयोजना रद्द भयो भने मधेश आन्दोलित हुनेबाहेक अर्को कुनै उपायनै हुँदैन । विशेषगरी कृषकहरूको सपनामाथि घात हुन्छ,’ उनले भने ।
सुनकोशी मरिण डाइभर्सन आयोजना सम्पन्न भएपछि सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
आयोजनाबाट मधेश प्रदेशको कृषि उत्पादन र उत्पादकत्व वृद्धि हुनुका साथै सिँचाइका लागि वर्षायाममा निर्भर रहनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।