काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि गठन गरेको समितिको बैठक आह्वान गरेको छ ।
समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै आगामी मंसिर ९ गते बिहान ११ बजे बैठक बस्ने जानकारी दिएका हुन् । बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजना गरिनेछ ।
बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद तथा पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजकलाई आमन्त्रण गरिएको छ । त्यस्तै, महाधिवेशनको तयारीका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष एवं पदाधिकारीलाई पनि बोलाइएको छ ।
यसैगरी प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशसभा सदस्य, भ्रातृ र शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी तथा काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापति र जिल्ला पदाधिकारीलाई समेत बैठकमा उपस्थित हुन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारी र संगठनात्मक गतिविधिलाई अघि बढाउने सन्दर्भमा देउवा पक्षले बैठक बोलाएको हो ।