भारतको १८४ अर्ब ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार खर्च गर्छौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए ।

नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ । विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए ।

यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । यद्यपि, १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे । ऋण डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको उनको भनाइ छ ।

यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए । 

भैरहवाको दोहोरो हवाई रुट ऐतिहासिक उपलब्धि

अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अहिलेसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाइएको जानकारी दिए । यसले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए ।

आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ । भारतले नेपालको १२५ किलोमिटर भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा आएका समाचारलाई उनले पूर्णतः निराधार, भ्रामक र कपोलकल्पित बताए । 

सुनकोशी–सप्तकोशी आयोजना २२ वर्ष पुरानो

सांसदहरूले सुनकोशी–सप्तकोशी आयोजनाबारे उठाएको जिज्ञासामा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताए ।

उनका अनुसार सुनकोशी–सप्तकोशी हाइ ड्याम आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको छ । उक्त कार्यालयले आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम गर्ने म्यान्डेट पाएको उनले जानकारी दिए । 

‘समुन्नत नेपाल’को छुट्टै पञ्चवर्षीय योजना आवश्यक छैन

भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’सम्बन्धी भिजन डकुमेन्टबारे उठेको प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको बताए । उनका अनुसार भिजन डकुमेन्टमा समेटिएका १० वटा स्तम्भ नै त्यसको कार्यक्षेत्र र कार्यादेश हुन् । यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अन्य दस्तावेज आवश्यक नपर्ने उनको तर्क छ ।

अर्थमन्त्री वाग्लेले भने, ‘नेपालले विगत १०–१२ वर्षदेखि गर्दै आएको कूटनीतिक प्रयासपछि लुम्बिनीका लागि एकतर्फी हवाई प्रवेशमार्गलाई द्विपक्षीय बनाइएको छ । यो नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हो । आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने लक्ष्य रहेको छ । बागडोगरासँग सम्बन्धित १२५ किलोमिटर क्षेत्रको विषयमा फैलिएका समाचार तथा हल्लाहरू पूर्णतः निराधार, भ्रामक र कपोलकल्पित हुन् । त्यस्ता कुरामा कुनै सत्यता छैन ।

त्यसैगरी, सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनासम्बन्धी विषय पनि नयाँ होइन । सन् २००४ देखि नै विराटनगरमा नेपाल–भारत संयुक्त परियोजना कार्यालय स्थापना भई यस आयोजनाको अध्ययन तथा तयारी हुँदै आएको छ । नेपाल–भारत भिजन डकुमेन्टमा उल्लेख गरिएका १० वटा प्रमुख स्तम्भ नै यसको कार्यक्षेत्र र उद्देश्य हुन् । कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउनु यसको मुख्य उद्देश्य हो ।

यो दस्तावेज दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढाउने मार्गनिर्देशन हो । त्यसैगरी, भारतबाट प्राप्त सहुलियतपूर्ण ऋण तथा लाइन अफ क्रेडिट विशेषगरी ऊर्जा र पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ । अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा ऋण लिन र भुक्तानी गर्न सकिने विकल्प प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि हो । यसले विनिमय दरको जोखिम घटाउन सहयोग गर्नेछ ।

समग्रमा, भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्त्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ । यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । यस सहयोगका लागि नेपाल सरकार भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ ।’

कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायतका क्षेत्रलाई समेटेर दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दिशानिर्देश दिन खोजिएको उनले बताए । नेपालको कृषि रणनीति, आवधिक योजना, बजेट तथा नीति कार्यक्रम आफ्नै ठाउँमा रहने उल्लेख गर्दै उनले भिजन डकुमेन्टले नेपालका विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने स्पष्ट पारे ।

मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको थियो । 

Share News