न्यान्सी-सुशीलको ‘अक्षरा’को डिजिटल अधिकार बिक्री, भदौ २६ देखि देशभर प्रदर्शन

काठमाडौं । नारी जीवनका संघर्ष, आत्मसम्मान, प्रेम र पारिवारिक सम्बन्धका विविध आयामलाई कथावस्तु बनाइएको नेपाली चलचित्र अक्षरा’  को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटल इन्टरटेन्मेन्टले खरिद गरेको छ । 

निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । डिजिटल अधिकारसम्बन्धी सम्झौतामा निर्माण पक्षका प्रतिनिधिसँगै मुभिज डिजिटल इन्टरटेन्मेन्टका प्रदीप धामी, पुष्कर शर्मा घिमिरे र आशिष तामाङ सहभागी थिए ।  

निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकारसमेत बिक्री भइसकेको छ । अब चलचित्रका गीत, ट्रेलरलगायत डिजिटल सामग्री सम्बन्धित प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ । 

स्वर्गीय परीक्षित ढुङ्गानाको सम्झनामा निर्माण गरिएको ‘अक्षरा’को प्रदर्शन पोस्टरसमेत सार्वजनिक भइसकेको छ । पोस्टरमा ‘कतिञ्जेल नारीले मात्र आफ्नो घर, थर सार्नुपर्नेरु अरूलाई खुसी पार्ने बहानामा सधैं आफैं हार्नुपर्ने’ भन्ने भावलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा न्यान्सी खड्का र सुशील सिटौला मुख्य भूमिकामा छन् । न्यान्सीले यसअघि ‘१२ गाउँ’मार्फत दर्शकमाझ आफ्नो अभिनयको प्रभाव छाडेकी थिइन् । ‘अक्षरा’मा भने उनी फरक र चुनौतीपूर्ण भूमिकामा देखिँदैछिन् । 

चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहा, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप थुलुङ, विश्वनाथ तामाङ, रवीन्द्र अधिकारी, प्रज्वल दुलाल र निशा कुइकेललगायत कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुङ्गाना रहेका छन् । 

चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन् । 

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्। सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको चलचित्रको निर्देशन पौडेलले गरेका हुन् । 

‘अक्षरा’का गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ । अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वरमा गीत समावेश छन् । चलचित्रको तीज विशेष गीत ‘नाचौँ न बरिलै’ यसअघि नै सार्वजनिक भइसकेको छ । 

दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको पोस्टर डिजाइन राकेश दाहालले गरेका छन् । 

चलचित्रको देशव्यापी वितरण नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दङ्गालले गर्नेछन्। निर्माण पक्षले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसारलाई तीव्र बनाउने जनाएको छ । 

ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गर्दै दर्शकमाझ चलचित्रको विषयवस्तु र पात्रबारे जानकारी पुर्याउने तयारी निर्माण पक्षको छ ।

Share News