काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप क्रिकेटका लागि छनोट भएको छ। शनिबार मलेसियामा भएको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल लगातार दोस्रो पटक प्रिमियर कपको च्याम्पियन बनेको हो ।
मलेसियाको वायुमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो ।
यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । तनिश सुरीले ४२ र कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । ओपनर आसिफ शेखले १०२ रनको शानदार शतक बनाए । उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । गुल्शन झाले ५२ रनको आक्रामक इनिङ्स खेले भने अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रन जोडे ।