एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं  । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैंमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे । 

उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए । 'देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,' मन्त्री पोखरेलले भने, ' प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौं ।' 

उनले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । 

जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन् ।

तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् ।

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ । 

नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकबिहीन भएर फर्किएको छैन । सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ । 

विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् । नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ ।

यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ/छ खेलाडी सहभागी हुनेछन् । खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक-फरक मितिमा जापान पुग्नेछन् ।

Share News