काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सोमबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्नेमा जोड दिँदै सरकार स्वयं विवादमा जोडिएको बताए । सरकार आफैँ विचौलिया प्रकरणमा जोडिएकाले यसको छानबिन सरकारले मात्रै गर्न नसक्ने उनको भनाइ छ ।
महामन्त्री पौडेलले प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपप्रति पनि आपत्ति जनाए । उनले दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप सुरक्षित र विकसित हुने अपेक्षा गरिए पनि पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए ।
सत्तारूढ दलका नेताहरूले पनि पत्रकारमाथिको हस्तक्षेपको विरोध गरेको उल्लेख गर्दै उनले सरकारका गतिविधिप्रति असहमति रहेको भए निष्पक्ष छानबिनको मागमा विपक्षीसँगै उभिनुपर्ने बताए ।
उनले भने, ‘विचौलिया प्रकरणमा सरकार, अदालत तथा अन्य पक्षहरू जोडिएर आएका समाचारहरू छन्, त्यसका बारेमा छानबिन हुनुपर्छ । त्यसको गहिराइमा पुगेर छानबिन गर्नुपर्छ । अब हामीहरूले अदालत, सरकार, राज्य संरचना सबै विचौलियामुक्त बनाउन जरुरी छ । त्यसैले यसको गहिराइमा पुगेर छानबिन सरकारले गर्न सक्छ त ? अदालतकै कुरा जोडिएको छ, महत्वपूर्ण पक्षहरूसँग कुरा जोडिएको छ । अब यसको छानबिन कसरी हुन सक्छ त ? हामीले चाहेको यसको निष्पक्ष छानबिन हो । दूधको दूध, पानीको पानी छुट्याइनुपर्छ । अब त्यसको निष्पक्षतामाथि पनि हाम्रो प्रश्न उठेको स्थिति छ ।'
उनले संसद्को बैठक तत्काल बोलाउन र प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिए । साथै, विवादित न्यायाधीशहरूमाथि महाभियोग लगाउने विषयमा अन्य विपक्षी दलहरूसँग समेत परामर्श गरेर अघि बढ्ने कांग्रेसको तयारी रहेको उनले बताए ।