काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।
कात्तिक १ देखि १५ गतेसम्मको पहिलो पाक्षिक अवधिका लागि आयोजित लक्की ड्रमार्फत जनकपुरका उपभोक्ताले उक्त पुरस्कार जितेका हुन् ।
कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका हुन् ।
अर्थ मन्त्रालयमा आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ मा लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो ।
कार्यक्रमअन्तर्गत १५ जना उपभोक्तालाई जनही १ लाख ३३ हजार ३४ रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक पाक्षिक अवधिमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बम्पर पुरस्कार विजेता उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले टेलिफोनमार्फत बधाई दिएका थिए ।
कार्यक्रममा क्रिकेट खेलाडी ललितनारायण राजवंशीसमेत उपस्थित थिए ।
