काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको आह्वानमा सोमबार (आज) बिहान सिंहदरबारमा बसेको सचिव बैठक सम्पन्न भएको छ ।
बिहान ९ः३० बजे सुरु भएको बैठकमा प्रशासनिक सेवा प्रवाह, सुशासन, सरकारी निर्णय कार्यान्वयन र कर्मचारी प्रशासनका विषयमा छलफल भएको थियो ।
बैठकमा पछिल्लो समय कर्मचारीमाथि भइरहेको धरपकड, प्रशासनिक संयन्त्रको कार्यक्षमता तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयले समेत प्राथमिकता पाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन तथा राष्ट्रिय समन्वय महाशाखाले आयोजना गरेको बैठकमा संघीय मन्त्रालय, आयोग तथा सचिवालयका सचिव र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव सहभागी थिए ।
बैठकको कार्यसूचीमा गत असोज ५ गते बसेको सचिव बैठकका निर्णय कार्यान्वयनको समीक्षा, आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना कार्यान्वयनको पहिलो त्रैमासिक प्रगति मूल्याङ्कन र सरकारी निकायमा रहेको बेरुजु फर्छ्याैटको अवस्था समीक्षा गर्ने विषय समेटिएका थिए ।
त्यसैगरी, चाडपर्व लक्षित शान्ति सुरक्षा, बजार अनुगमन तथा सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ कार्यान्वयनका विषय पनि बैठकको एजेन्डामा थिए ।
सरकारले प्रशासनिक संयन्त्रलाई नतिजामुखी बनाउने, सरकारी निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले सचिव बैठक गर्दै आएको छ ।