संकटा फुटबल क्लबले साढे २ करोडमा भाडामा लियो वायुसेवा निगमको भवन

काठमाडौं । संकटा फुटबल क्लबले नेपाल वायुसेवा निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनका पसल कवल दुई वर्षका लागि भाडामा लिएको छ ।

निगमको प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका ई र एफ खण्डका कुल ३ हजार ४ सय ९६ वर्गफिट क्षेत्रफलका पसल कवल भाडामा लगाउन निगमले सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रमध्ये संकटा फुटबल क्लब छनोट भएको निगमले जनाएको छ ।

निगमका अनुसार क्लबले बहाल करसहित प्रतिवर्गफिट प्रतिमहिना ३ सय ७ रुपैयाँ भाडा कबोल गरेको छ । दुई वर्षका लागि क्लबले कबोल गरेको कुल बहाल रकम २ करोड ५७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

निगमले गत साउन २० गते गोरखापत्रमा सूचना प्रकाशित गरी आफ्नो नाममा दर्ता रहेको कान्तिपथस्थित प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका पसल कवल दुई वर्षका लागि भाडामा लगाउन इच्छुक व्यक्ति तथा संघसंस्थाबाट सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त सिलबन्दी बोलपत्रमध्ये सारभूत रूपमा प्रभावग्राही रहेको संकटा फुटबल क्लबको बोलपत्र छनोट गर्ने निर्णय भएको निगमले जनाएको छ ।

Share News