काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले नेपालका थप ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमशिखरलाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन माग गरेको छ ।
अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभालाई सम्बोधन गर्दै एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालका थप ६ वटा हिमाललाई औपचारिक मान्यता दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
अध्यक्ष शेर्पाले हिमशिखरको आफ्नै नाम, भौगोलिक पहिचान र छुट्टाछुट्टै आरोहण मार्ग रहेको उल्लेख गर्दै तिनलाई स्वतन्त्र हिमालका रूपमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।
एनएमले अन्तर्राष्ट्रिय मान्यता दिन माग गरेका हिमालहरुम कञ्चनजंगा साउथ (८ हजार ४७६ मिटर), कञ्चनजङ्घा वेस्ट (८ हजार ७७ मिटर), कञ्चनजङ्घा सेन्ट्रल (८ हजार ४७३ मिटर) र यालुङ काङ (८ हजार ५९५ मिटर) छन् ।
त्यस्तै, सगरमाथा–ल्होत्से हिमशृङ्खलाअन्तर्गत ल्होत्से मिडल (८ हजार ४१० मिटर) र ल्होत्से शार (८ हजार ४०० मिटर) रहेका छन् ।
अध्यक्ष फुर्वा गेल्जे शेर्पाले प्रत्येक हिमशिखरको आफ्नै नाम, भौगोलिक पहिचान र छुट्टै आरोहण मार्ग रहेको उल्लेख गर्दै एउटा शिखरको आरोहणले अर्को शिखरको आरोहण पूरा नहुने बताए । स्थानीय समुदायले समेत यी हिमशिखरलाई छुट्टाछुट्टै पहिचानका रूपमा लिने गरेको उनको भनाइ छ ।
अध्यक्ष शेर्पाले ८ हजार मिटरभन्दा माथिका हिमशिखर आरोहण गर्न असाधारण शारीरिक क्षमता, प्राविधिक दक्षता, अनुभव र विशेष तयारी आवश्यक पर्ने बताए । उनले प्रत्येक चुचुरोलाई छुट्टै सफलताको रुपमा मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन् ।
यस विषयलाई अघि बढाउन एनएमएले विज्ञ टोलीसमेत गठन गरेको छ । अध्यक्ष शेर्पाका अनुसार मधुसूदन अधिकारीको नेतृत्वमा पाँच सदस्यीय विज्ञ टोलीले यी ६ वटा हिमशिखरलाई छुट्टै मान्यता दिनुपर्ने भौगोलिक, वैज्ञानिक तथा पर्वतारोहणसम्बन्धी आधार प्रस्तुत गर्नेछ ।
उनले नेपालका थप ६ वटा हिमशिखरलाई मान्यता दिनु मात्रै आफ्नो उद्देश्य नभएको स्पष्ट पारे । नेपाली हिमालयका सबै हिमालको वर्गीकरणका लागि स्पष्ट, वैज्ञानिक र अन्तर्राष्ट्रिय रूपमा उपयोगी मापदण्ड विकास गर्न नेपालले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।
नेपालले यसअघि नै यी ६ वटा हिमशिखरलाई आफ्नो आधिकारिक सूचीमा समावेश गरिसकेको छ। तर, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा भने विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाललाई मात्रै मान्यता दिइँदै आएको छ ।
यी ६ वटा हिमशिखरले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट २० पुग्नेछ ।