काठमाडौं । नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को विशेष पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान सञ्चालन गर्न लागेको हो।
नेपालको मौलिक संस्कृति, परम्परा, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
यस अभियानमा खानपान, भेषभूषा, यात्रा, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीलगायत विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रिएटर सहभागी हुनेछन्। उनीहरूलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँका विशेषता समेटिएका फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री उत्पादन गराइनेछ।
पर्यटनमन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन्। नयाँ तथा कम परिचित पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरको सहभागिता प्रभावकारी हुने उनको भनाइ छ।
मन्त्री पौडेलले यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी नेपालमा कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै आएका छन्। यसबाट नयाँ प्रतिभाले आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। सोहीअनुसार विभिन्न विधाका २०० भन्दा बढी क्रिएटरलाई पर्यटन प्रवर्द्धन अभियानमा जोड्न लागिएको हो।
अभियानअन्तर्गत क्रिएटरहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नो सिर्जनात्मक शैली र विधाअनुसार सामग्री उत्पादन गर्नेछन्। यसबाट स्थापित पर्यटकीय गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परम्परागत प्रचार सामग्रीभन्दा फरक व्यक्तिगत अनुभव, स्थानीय कथा, संस्कृति, खानपान र जीवनशैलीमा आधारित सामग्री उत्पादन गरी सम्भावित पर्यटकलाई नेपालसँग जोड्ने अभियानको लक्ष्य छ। डिजिटल प्लेटफर्ममार्फत नेपालको पर्यटनसम्बन्धी जानकारी विभिन्न उमेर समूह र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने विश्वास बोर्डले लिएको छ।