राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता गरेको आरोपमा ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार मन्दिर निर्माणका क्रममा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएर नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो । सोही आधारमा ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । उक्त निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि पर्यटन विकास कार्यालय, गौर र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । अख्तियारले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । त्यस्तै, उक्त योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा फिल्डमा नभएको काम भएको देखाई गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेका थिए । त्यसका आधारमा झुट्टा बिल तथा भरपाई बनाएर बढी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।
जलवायु अभियन्ता अटल देव ढकाल बने पहिलो ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’
काठमाडौं । नेपालका जलवायु न्यायका अभियन्ता अटल देव ढकालले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को ऐतिहासिक पहिलो उपाधि जित्न सफल भएका छन् । युवा नेतृत्व, सामाजिक प्रभाव र क्षेत्रीय एकताको उत्सवका रूपमा आयोजना गरिएको यस प्रतियोगिताको महाफाइनल सेप्टेम्बर मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा सम्पन्न भएको हो । नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेश गरी पाँच राष्ट्रका प्रतिनिधिहरूलाई एउटै मञ्चमा जोड्दै ग्लोकल टिन हिरोले पहिलोपटक क्षेत्रीय स्तरमा यो उपाधि प्रदान गरेको हो । विजेता ढकालले अन्तर्राष्ट्रिय पहल युङ्गो अन्तर्गत पहाड र हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा युवाको प्रतिनिधित्वका लागि आवाज उठाउँदै आएका छन् । कोप-३१ अघि एक लाख युवाको आवाज बुलन्द पार्ने लक्ष्यका साथ काम गरिरहेका उनलाई जलवायु कार्य र वातावरणीय न्यायमा पुर्याएको उल्लेखनीय योगदानका लागि सो उपाधि प्रदान गरिएको हो । कार्यक्रमको सुरुवात बाढी पीडितहरूको सम्झनामा एक मिनेट मौन धारण गरी गरिएको थियो । कार्यक्रममा ग्लोकल प्राइभेट लिमिटेडका कर्पोरेट प्रबन्धक बिराट सिंह ठकुरी, गोल्छा ग्रुपकी सीमा गोल्छा, प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य, पद्म ज्योति समूहका निर्देशक साउरभ ज्योति, युनेस्कोका प्रतिनिधि जाको दु तोइत र ग्लोकलका प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुर लगायतले युवा नेतृत्व र सहकार्यको महत्त्वबारे मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा एलुम्नाई एक्सिलेन्स अवार्ड आशिष पन्थीलाई प्रदान गरिएको थियो भने नेपालस्थित बंगलादेश, श्रीलंका र भुटानका कूटनीतिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । दक्षिण एसियाली महाफाइनलमा नेपालका ढकालसहित अन्य चार देशका राष्ट्रिय विजेताहरूलाई समेत सम्मान गरिएको थियो । जसमा बंगलादेशकी मुनाजिया स्निग्धा मून (सामाजिक उद्यमशीलता र मानसिक स्वास्थ्य), भुटानकी उग्येन शेडेन तोब्गे (युवा अभियान र समावेशी शिक्षा), भारतका राघुल आर (महिला सुरक्षा प्रविधि ‘शीस्फियर’ का संस्थापक) र श्रीलंकाका मोहमद अमाजिर मोहमद अमानथ (खगोलशास्त्र र विज्ञान शिक्षा) रहेका छन् । सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको ग्लोकल टिन हिरो १२ वर्षको यात्रा पूरा गर्दै अहिले दक्षिण एसियाली क्षेत्रकै ठूलो किशोर सशक्तिकरण मञ्चका रूपमा स्थापित भएको छ । यस ऐतिहासिक संस्करणलाई गोल्छा ग्रुपले उपाधि साझेदारका रूपमा सहयोग गरेको थियो भने भारतीय दूतावास, युएई दूतावास, युएनएफपीए, प्लान इन्टरनेशनल, युएन विमेन, कोइका, नबिल बैंक, होन्डा, कान्तिपुर, द काठमाडौं पोस्ट लगायतका बहुसंख्यक संस्था तथा ब्रान्डहरूले रणनीतिक, संस्थागत र सञ्चार साझेदारका रूपमा सहकार्य गरेका थिए ।
भोटेकोशीले उजाडेको बनिया परिवार, बाउ-छोरा अझै खोज्दैछन् आफ्नो संसार
काठमाडौं । ‘हाम्रो परिवार उजाडियो, सपना हरायो । न लास भेट्यौं, न उनीहरू बाँचेको कुनै खबर नै पायौं । आखिर हामीले त्यस्तो के गरेका थियौं ?’ त्रिवि शिक्षण अस्पतालको गेट अगाडि भेटिएका ५१ वर्षीय बुधनचा बनिया एकसुरले बोलिरहेका थिए । जहाँ हराएका मानिसहरूको फोटो भित्तामा टाँसिएका छन् । आफन्त भेटिने आशामा परिवारहरू खोजीमा फोटोमा आँखा डुलाइरहेका छन्। टिमुरे, त्रिसुली र स्याफ्रुबेँसीबाट हराएका छन् भन्दै आवाज कानमा गुन्जिरहेको थियो । बनिया बोल्दै गर्दा उनका शब्दभन्दा आँखा बढी बोलिरहेका थिए । उनी श्रीमती र छोरीहरूको फोटोमा हेर्दै टोलाइरहेका थिए । बनियाको परिवार बेत्रावतीमा बसोबास गर्दै आएका थियाे । उनको परिवारबाट एकैपटक पाँच जना सदस्यलाई भोटेकोशीले बगाएपछि उनी अहिले छोरा राजा कुमार बनियासँगै आफ्ना प्रियजन परिवारको खोजीमा भौंतारिरहेका छन् । हिजोआज उनले अस्पतालको गेट र प्रहरीलाई सोधपुछ गर्दा दिन बितेको पत्तो पाउँदैनन् । उनको आँखा- मनले छोरी, श्रीमती र नातिनी खोजिरहेको छ । बाढीले भारत घर भएका बनियाका माल्तीदेवी बनिया, सन्ध्यादेवी बनिया, दिप्शिका कुमारी बनिया, रुपा कुमारी बनिया र आशा कुमारी बनियालाई बगाएको हो । बाढी आएको दिनदेखि नै बुधनचा र उनका २३ वर्षीय छोरा राजा कुमार कहिले नदी किनार, कहिले शव सङ्कलन केन्द्र र कहिले बाढीले क्षति पुर्याएका बस्तीमा भौँतारिरहेका छन् । ‘खोज्दै हिँडेका छौं, तर भेटिएको छैन,’ बुधनचाले पीडाले भरिएको स्वरमा भने, ‘अब चितवनतिर पनि जान लागेका छौं । कतै केही चिनो पो भेटिन्छ कि ? ।’ नेपालमा बिस्तारै जीवनले लय समाउँदै गइरहेको उनलाई लागेको थियो । तर भोटेकोशीले नदीले जीवनको धार बदलिदियो । बास र परिवार बगाएपछि सबैथोक अन्धकार भएको जस्तो बनियालाई लागेको छ । जाने ठाउँ र बोलाउने मानिस हराएकाले केही सोच्न पनि नसकेको उनको भनाइ छ । हेलिकप्टरबाट बाँचेर फर्किए, परिवारलाई उतै छाडे बाढीको त्रासदीबाट बनियाका बुबा–छोरा भने ज्यान जोगाउन सफल भए । उद्धारपछि उनीहरू हेलिकप्टरमार्फत त्रिशूलीसम्म आइपुगे। त्रिशुलीलाई छाडेर काठमाडौं आएका उनीहरू फोटो हेर्दै बिलौना सुनाउँदै हिँडिरहेका छन्। राहत सामग्री पुर्याउन जाने गाडीमै फर्केका काठमाडौं फर्केका उनीहरू अहिले हराएका आफन्तको खोजीमा छन् । ज्यान बचे पनि उनीहरूलाई जीवन बाँचेको जस्तो अनुभूति छैन । ‘हाम्रो कमाइ राम्रो थियो । जीवन राम्रैसँग चलिरहेको थियो,’ बुधनचाले अनुहार मलिन बनाएर भने, ‘चटपटेको काम गर्थ्यौं, कवाडी सङ्कलन गरेर बेच्थ्यौं । दुःख थियो, तर आफ्नो परिवारसँग भएका हामीसँग सब थियो । अहिले त सबै कुरा सकियो जस्तो लाग्छ ।’ बनिया परिवारको नेपाल आएको १४ वर्ष बितिसकेको थियो । बेत्रावतीको किनार र बजारमा साइकल घुमाए । पसिना बगाए, यहीँ परिवारको भविष्य खोजे । सानो–सानो कमाइबाट जीवनका लागि ऊर्जा बटुलिरहेका थिए । भोलिको सपनालाई सजाएर वर्तमानमा बाँचिरहेका थिए उनीहरू । केही क्षणको बाढीले वर्षौंदेखि जोड्दै आएको संसार र सपना बगाएर लग्यो । बुधनचाका लागि अहिले सबैभन्दा ठूलो पीडा मृत्यु हो । परिवार भेटिएनन्, आफ्ना मान्छे कहाँ छन् भन्ने खबर उनका लागि अनिश्चितता बनेको छ । उनले न मृत परिवारलाई देख्न सकेका छन्, न कतै जीवितै रहेको आश्वासन पाउन सकेका छन् । उनीहरू शव खोज्ने यात्रमा नभइ एउटा परिवारको सपना खोजिरहेका छन् । ‘हाम्रो दिमागले काम गर्न सकेको छैन,’ बुधनचा भन्छन्, ‘हामीले कसैको केही बिगारेका थिएनौं । हामीले त्यस्तो के गल्ती गरेका थियौं र यस्तो सजाय भोग्नुपर्यो ?’ उनको प्रश्नको जवाफ नदीसँग पनि छैन, बाढीले बगाएका ढुंगासँग पनि छैन । उनको मनसँग मात्र आशा छ । छेउमै रहेका २३ वर्षीय छोरा राजा पनि मौन छन् । उनी बाँच्न सफल भए । बाँकी पाँचजना हराएकाले उनीहरूको जीवनमा रित्तोपन मात्र छ । खालीपनले दुवै बाउछोरालाई छोएको छ । ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’ बुबाको कुरा सुनेर छेउमा उभिएका राजाको आँखा आँसु टिल्पिलाउन थाल्यो। बुबा–छोरा अहिले पनि खोजीमा छन् । बुबा छोरा मात्र नभइ अहिले असल साथी बनेका छन् । उनीहरू शवको खोजीमा पाइला अघि बढाइरहेका छन् । चितवनतिर जाने तयारीमा रहेका उनीहरू परिवारको कुनै चिनो भेटिने आशा छन् । भोटेकोशीको उर्लंदो भेलले केवल घर र सम्पत्ति मात्र बगाएन । बुधनचाको एउटा पूरै संसार बगाएको छ। ‘हाम्रो परिवार उजाडियो, सपना हरायो,’ बुधनचा फेरि भन्छन्, ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’