महिनावारीमा हुने पेट दुखाइबाट राहत कसरी पाउने ?

काठमाडौं । महिनावारीका बेला पेट, कम्मर र तिघ्रामा हुने दुखाइ (डिस्मेनोरिया) बाट राहत पाउन तातोपानीले नुहाउने वा हिटिङ प्याड प्रयोग गर्ने ताप उपचार प्रभावकारी उपाय बन्न सक्छ । महिनावारीको समयमा पाठेघरका मांसपेशी खुम्च्याउने 'प्रोस्टाग्लान्डिन' नामक रसायनको मात्रा बढी हुँदा ऐंठन र दुखाइ तीव्र हुने गर्छ । यस्तो अवस्थामा १० देखि २० मिनेटसम्म तातोपानीमा बस्दा वा सेक्दा मांसपेशीले आराम पाउनुका साथै प्रभावित क्षेत्रमा रक्तसञ्चार बढ्ने र प्राकृतिक रूपमा दुखाइ कम गर्ने 'एन्डोर्फिन' उत्पादन भई तनाव एवं ऐंठन घट्छ । यात्रा वा कार्यालयमा हिटिङ प्याड सहज हुने भए पनि पूरै शरीरको आरामका लागि तातोपानीले नुहाउनु फलदायी हुन्छ । तातोपानीका साथै हल्का व्यायाम, पर्याप्त निद्रा, प्रशस्त पानी र म्याग्नेसियम तथा ओमेगा-३ युक्त खानपानले पनि दुखाइ व्यवस्थापनमा सघाउँछ । यद्यपि, यो उपाय हल्का र मध्यम दुखाइका लागि मात्र उपयुक्त हुने भएकाले हरेक महिना असह्य दुखाइ हुने वा अत्यधिक रक्तस्राव जस्ता असामान्य लक्षण देखिएमा बेवास्ता नगरी समयमै स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग सम्बन्धित विषयमा आपत्तिजनक सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गतिविधिमा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाँउपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटवाललाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले कटवाललाई भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । साइबर ब्युरोका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

इन्फा अवार्ड्स २०२६ मा ‘ऊनको स्विटर’ को दबदबा, विपिन र नीर शाह बने उत्कृष्ट अभिनेता

काठमाडौं । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल-२०२६) काठमाडौंमा भएको छ । जुरी प्यानलका सदस्यहरू हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापाले शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि सुरु भएको समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज तथा लोकप्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  राष्ट्रिय गान र दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य-दृश्य सामग्री प्रदर्शनपछि मनोरञ्जनात्मक प्रस्तुतिका साथ कार्यक्रम अघि बढेको थियो ।  यस वर्षको अवार्डमा नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्विटर’ सर्वाधिक नौ विधामा विजयी हुँदै सर्वोत्कृष्ट ठहरियो । फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (नवीन चौहान), उत्कृष्ट अभिनेत्री (मिरुना मगर), उत्कृष्ट पाश्र्व गायिका (झुमा लिम्बु- ‘काफ्ले’), उत्कृष्ट पाश्र्व गायक (सुजन चापागाईं- ’फूलहरू’), उत्कृष्ट गीतकार (हर्क साउद - ’फूलहरू’) र उत्कृष्ट पटकथा (नवीन चौहान र सुरज) लगायतका प्रमुख विधामा सफलता हात पारेको छ । मुख्य अभिनय विधामा भने कडा प्रतिस्पर्धाका बीच ‘परान’ बाट नीर शाह र ‘ऊनको स्विटर’ बाट विपिन कार्की संयुक्त रूपमा उत्कृष्ट अभिनेता घोषित भए ।  यस्तै, चरित्र अभिनयतर्फ ‘श्री बुकुरो’ बाट लक्ष्मी गिरी र ‘हर्ष’ बाट सन्तोष पन्त उत्कृष्ट घोषित भए भने सह-अभिनेतातर्फ प्रकाश दाहाल (‘अभिमन्यू’) र सह-अभिनेत्रीतर्फ आँचल शर्मा (‘जेरीः अन टप’) ले अवार्ड जिते । नव-कलाकारतर्फ विमोचन दवाडी (‘झरीपछिको इन्द्रेणी’) र श्यामश्री शेर्पा (‘माइतीघर’) ले सफलता प्राप्त गरे ।  प्राविधिक तथा अन्य विधाहरूमा ‘जेरीः अन टप’ ले छायांकन (निमेष रेग्मी) र सम्पादन (निमेष श्रेष्ठ) मा सफलता पायो। यस्तै ‘द ब्लू लाइट’ ले उत्कृष्ट खलपात्र (श्रृष्टि श्रेष्ठ) र पाश्र्व संगीत (मोहक श्रेष्ठ) को अवार्ड जित्यो। द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ (‘राम नाम सत्य’) र नृत्य निर्देशनमा रामजी लामिछाने (‘मोहर’) पुरस्कृत भए । समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ नगदसहित ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो । विशेष विधाहरूमा कविता नेपाल ‘पर्फमर अफ द इयर’, उषा उप्रेती ‘इन्करेजमेन्ट अवार्ड’, जस्सिता गुरुङ ‘लोकप्रिय अभिनेत्री’ र पल शाह ‘लोकप्रिय अभिनेता’ घोषित भए ।  जुरी अवार्डतर्फ अभिनेता सौगात मल्ल (‘सिटामोल’), निर्देशक सुदीप्ता अधिकारी (‘रमिताको पिरती’) र चलचित्र ‘गुन्यु चोलो’ (निर्देशक समुद्र भट्ट) पुरस्कृत भए भने कान फिल्म फेस्टिभलमा सफलता पाएको ‘एलिफेन्टस इन द फग’ लाई विशेष सम्मान गरियो ।  सन्दिप क्षेत्री र ओशिन सिटौलाको ठट्टाउलो सञ्चालन रहेको समारोहमा दीया मास्के, तेरिया मगर, कमेडी दरबारका कलाकार र बाबुल गिरी लगायतको सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।  आयोजकका तर्फबाट बोर्ड निर्देशक आशिष पन्तले आन्तरिक व्यवस्थापन र स्क्रिप्ट लेखनको जिम्मेवारी सम्हालेका थिए भने पाल्देन लामाले धन्यवाद ज्ञापन गर्दै नेपालमा पहिलो पटक आयोजित यो संस्करण सफल भएकोमा खुसी व्यक्त गरे ।