कागजमा मात्रै घट्यो गाडी भाडा

काठमाडौं । सरकारले इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाउने निर्णय गरेको हप्तौं भइसक्यो । तर, काठमाडौं उपत्यकाका सडकमा गुड्ने गाडीहरूमा यो निर्णय अझै लागू भएको छैन । यात्रुहरू पुरानै महँगो भाडा तिर्न बाध्य छन् । सरकारी दररेटभन्दा बढी रकम असुलिँदा दैनिक आवतजावत गर्ने यात्रु प्रत्यक्ष मारमा परेका छन् ।  कोटेश्वरमा बस्ने राजेन्द्र कुवँरका अनुसार कोटेश्वरदेखि बागबजारसम्मको भाडा पहिले २० रुपैयाँ लाग्ने गरेकामा अहिले ३० रुपैयाँ असुल्ने गरिएको छ । सरकारले भाडा घटाएको सूचना सार्वजनिक गरे पनि व्यवहारमा त्यसको कुनै प्रभाव नदेखिएको उनको भनाइ छ । ‘सरकारले भाडा घटाएको सुनिन्छ । तर, यात्रुले तिर्नुपर्ने भाडा भने झन् बढेको छ । चालक र सहचालकले मनपरी रकम लिने गरेका छन् । सरकारले सूचना निकालेर भाडा घट्यो भन्छ, तर त्यसको कार्यान्वयन कतै देखिँदैन,’ कुवँरले भने ।  विद्यार्थीहरू पनि बढी प्रभावित बनेका छन् । कुवँरका अनुसार यसअघि विद्यार्थी परिचयपत्र देखाएर कोटेश्वर–बागबजार यात्रा १५ रुपैयाँमा गर्न सकिने भए पनि अहिले त्यसको झण्डै दोब्बर भाडा तिर्नुपर्ने अवस्था आएको छ । यस्तै, चन्द्रागिरि केबलकारको गेटदेखि रत्नपार्कसम्मको भाडा पनि उल्लेख्य रूपमा बढेको यात्रुहरूको गुनासो छ । नयाँ बानेश्वर बस्दै आएका रविन गिरीले पहिले प्रतिव्यक्ति ४० रुपैयाँ लिने गरिएको उक्त रुटमा अहिले ७५ रुपैयाँ असुल्ने गरेको गुनासो गरे ।  उनले भने, ‘सरकारले भाडा घटाएको कागजमा मात्रै रहेछ । गाडी चालक र सहचालकहरुले त पुरानो भन्दा पनि बढी लिने गरेका छन् । सुरुमा एक सय दिनु भनेको थियो । तर, मैले यति होइन भन्दा यत्तिनै हो भनेर बोलाबोल समेत भयो । पछि ७५ दिनु जसरी पनि  भन्यो अनि ७५ तिरेर आए । ’ सरकारले इन्धन मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा समायोजन गरे पनि त्यसको प्रभाव सडकमा नदेखिँदा नियमन र अनुगमनमाथि प्रश्न उठ्न थालेको छ । यात्रुहरूले तत्काल प्रभावकारी अनुगमन गरी तोकिएको भाडादर कार्यान्वयन गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।  के भन्छ महासंघ ? नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बागमती प्रदेश सरकार र पूर्वाधार विकास मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरे । संघीय सरकारले अन्तर–प्रदेश भाडा समायोजन गरिसक्दा पनि बागमती प्रदेशले समयमा भाडा समायोजन नगरेको भन्दै उनले प्रदेश सरकारको आलोचना गरे ।  अध्यक्ष सिटौलाले बागमती प्रदेशको यातायात मन्त्रालयलाई निकम्माको संज्ञा दिए । उनले भने, ‘अन्तर–प्रदेश संघीय सरकारले भाडा समायोजन गरिसक्यो, तर बागमती प्रदेश सरकारले अहिलेसम्म गरेको छैन । यो प्रदेश सरकार निकम्मा भयो भन्दिए हुन्छ । ’ अध्यक्ष सिटौलाका अनुसार सरकारले समयमै र पारदर्शी ढंगले भाडा समायोजन नगर्दा यातायात क्षेत्रको नियमनमा समेत समस्या देखिएको छ । ‘समयमा समायोजन गरिदिए पो नियमन गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रदेश मन्त्रालयको काम के हो ? रमिते बनेर बस्ने कि काम गर्ने ? मन्त्रालयले जिम्मेवारी नलिँदा व्यवसायी र यात्रु दुवै मर्कामा परेका छन् ।’ प्रदेशका मन्त्री र कर्मचारीहरूले जनसरोकारका विषयमा चासो नदिएको भन्दै उनले मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाए । व्यवसायीहरूले पटक–पटक माग गर्दा पनि पारदर्शी ढंगले भाडा तोक्न ढिलासुस्ती गर्नुले सरकारको लाचारीपन प्रस्ट भएको उनको दाबी छ । संघीयताको मर्म अनुसार प्रदेश सरकारले आफ्ना अधिकार प्रयोग गरेर यातायात क्षेत्रलाई व्यवस्थित बनाउनु पर्नेमा उल्टै काम ठप्प पारेर बसेको सिटौलाको आरोप छ । उनले संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्काल भाडा समायोजन प्रक्रिया अघि बढाउन चेतावनी समेत दिए । यस विषयमा विकासन्युजले जिज्ञासा राख्दा अनुगमन गर्ने जिम्मा पाएका सरकारी निकायहरू भने एक–अर्कालाई दोष देखाउँदै पन्छिने गरेका छन् ।  ट्राफिक प्रहरी कारबाही गरिरहेको दाबी गर्छ, यातायात कार्यालय जनशक्ति नभएको गुनासो गर्छ भने मन्त्रालय प्रविधिको सपना देखाएर तत्कालको समस्याबाट उम्किन खोज्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेका अनुसार यातायात व्यवसायीले गाडीको प्रवेशद्वारमै देखिने गरी नयाँ भाडादर टाँस्नु अनिवार्य छ ।  ‘नयाँ समायोजन भएको भाडादर सबैले देख्ने गरी टाँस्नुपर्छ, हामीले अनुगमन गरिरहेका छौं,’ काफ्लेले भने । भाडादर नटाँस्ने वा तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई ५०० रुपैयाँ जरिवाना गर्ने गरिएको उनको दाबी छ । तर, उपत्यकाका अधिकांश सवारीमा अझै पनि नयाँ भाडादरको सूची देखिँदैन, जसका कारण यात्रु र सहचालकबीच दिनहुँ भनाभन हुने गरेको छ । अनुगमनको महत्त्वपूर्ण मानिने बागमती प्रदेश अन्तर्गतको यातायात कार्यालय एकान्तकुनाका सूचना अधिकारी अम्बिक घिमिरेले भने आफ्नो कार्यालयबाट कुनै अनुगमन हुन नसकेको स्वीकार गरे । उनको जवाफले सरकारी संयन्त्र कति कमजोर छ भन्ने प्रस्ट पार्छ ।  ‘हाम्रो कार्यालयमा त फाँटमा बसेर काम गर्ने कर्मचारी नै पुगिरहेका छैनन् । जनशक्ति र बजेटको अभाव छ,’ घिमिरेले भने, ‘भाडा समायोजन र अनुगमन गर्ने मुख्य काम बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको हो, उहाँहरूलाई सोध्नुस् ।’ उनका अनुसार दरबन्दी अनुसारका कर्मचारी भए पनि कार्यबोझ धेरै भएकाले सडकमा निस्किएर अनुगमन गर्न असम्भव छ । मन्त्रालय भन्छ : प्रविधिमैत्री नभई सुधार सम्भव छैन श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खकेन्द्र पौडेल भने व्यावहारिक र प्राविधिक समस्या देखाउछन् । ट्याक्सीको हकमा नापतौल विभागको सफ्टवेयरमा आएको समस्याले मिटर समायोजन हुन नसकेको उनको तर्क छ । सार्वजनिक यातायातको अनुगमन प्रभावकारी नभएको स्वीकार गर्दै उनले भने, ‘म्यानुअल्ली अनुगमन गर्दा रिसोर्सको अभाव र निकायहरूबीच समन्वयको कमी देखिन्छ । हामी फ्री हुँदा ट्राफिक व्यस्त हुने, ट्राफिक फ्री हुँदा हामी व्यस्त हुने समस्या छ ।’ पौडेलका अनुसार अब मन्त्रालयले इडिएल र भिआरएस जस्ता डिजिटल प्रणाली मार्फत भाडा नियमन गर्ने तयारी गरिरहेको छ । ‘ट्याक्सीलाई अनलाइन पोर्टलमा ल्याउने र क्यासलेस प्रणाली लागू गरेपछि मात्र यो समस्याको दीर्घकालीन समाधान हुन्छ,’ उनले भविष्यको योजना सुनाए ।   सरकारी अधिकारीहरूबीच समन्वयको अभाव र एकअर्कालाई जिम्मेवारी पन्छाउने प्रवृत्तिले गर्दा सरकारको निर्णय कागजमै सीमित भएको छ । ट्राफिक प्रहरीको ५०० रुपैयाँ जरिवाना र मन्त्रालयको डिजिटल सपनाको बीचमा आम यात्रु भने दैनिक रूपमा ठगिइरहेका छन् । बजारमा भाडा घटेको आभास नहुनुले सरकारी नियमनकारी निकायको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ । 

कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी

काठमाडौं । फिफा विश्वकप– २०२६ का १०० खेल पूरा भइसकेका छन् । लामो यात्रा, धेरै खेल र रोमाञ्चक क्षणपछि प्रतियोगिता अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । क्वार्टरफाइनलका चारै खेल निकै प्रतिस्पर्धात्मक रहे ।  फ्रान्सले अन्ततः मोरक्कोलाई पराजित गर्यो, स्पेनले सुपर–सब मिकेल मेरिनोको अन्तिम समयको गोलमा बेल्जियमलाई हरायो, जुड बेलिङ्घम इंग्ल्यान्डका लागि नायक बनेर नर्वेमाथि जित दिलाए भने अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अन्ततः तोड्न सफल भयो । अहिले घमण्ड गर्न खोजिएको होइन, तर अप्टा सुपरकम्प्युटरले अन्तिम चार टोलीको सही भविष्यवाणी गरेको थियो । प्रतियोगिता सुरु हुँदा विश्वकप जित्ने शीर्ष चार दाबेदार सबै टोली सेमिफाइनलमा पुगेका छन् । यही आधारमा अप्टा सुपरकम्प्युटरलाई फेरि सोधिएको छ, फिफा विश्वकप २०२६ को उपाधि अन्ततः कसले जित्ला ? पछिल्ला चार पुरुष विश्वकपमध्ये स्पेन, फ्रान्स र अर्जेन्टिनाले तीन उपाधि जितेका छन्। इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्दै ‘६० वर्षको प्रतीक्षा’ अन्त्य गर्ने लक्ष्यमा छ । फिफा विश्वकपको इतिहासमा यो तेस्रो पटक मात्र हो, जब सेमिफाइनलमा पुगेका चारै टोली पूर्व विश्वविजेता हुन् । यसअघि यस्तो सन् १९७० र १९९० मा भएको थियो । फ्रान्स सबैभन्दा बलियो दाबेदार अप्टा सुपरकम्प्युटरका अनुसार अहिलेको अवस्थामा विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना फ्रान्सको छ । डीडीए डेसाँको टोलीले उत्तर अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान किलियन एमबाप्पे आठ गोलसहित लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा दुवैले एक–एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्याएका थिए । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली फ्रान्स बनेको छ । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो (८) र रिभाल्डो (५) ले यस्तो उपलब्धि हासिल गरेका थिए । यस विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान रूपमा ६–६ गोल गरेका छन् । मोरक्कोमाथिको २–० को जितसँगै डेसाँले प्रशिक्षकका रूपमा विश्वकपमा २०औं जित निकाले । यो उपलब्धि हासिल गर्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । विश्वकपमा उनको यो २५औं खेल थियो, जसले हेल्मुट शोनको कीर्तिमान बराबरी गरेको छ । स्पेनविरुद्धको सेमिफाइनल उनको २६औं खेल हुनेछ, जसले नयाँ कीर्तिमान बनाउनेछ । यो डेसाँको प्रशिक्षकका रूपमा अन्तिम विश्वकप पनि हो । विश्वकपका बाँकी खेलका २५ हजार सिमुलेसनमा फ्रान्स ५७.७ प्रतिशत अवस्थामा स्पेनलाई हराएर लगातार तेस्रो पटक फाइनल पुग्ने देखिएको छ । समग्रमा उपाधि जित्ने सम्भावना ३४ प्रतिशत छ । स्पेन पनि बलियो चुनौती स्पेन यस विश्वकपको दोस्रो सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ । लुइस डे ला फुएन्तेको टोलीले बेल्जियमविरुद्धको क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन । फाबियन रुइजले अग्रता दिलाएपछि चाल्र्स डे केटेलारेले बराबरी गोल गरे । उनको हेडरले स्पेनको विश्वकपमा लगातार ६४९ मिनेटसम्म गोल नखाने श्रृंखला समाप्त गरेको थियो । तर पोर्चुगलविरुद्ध अन्तिम १६ मा जस्तै मिकेल मेरिनो फेरि बेन्चबाट आएर अन्तिम समयमा विजयी गोल गर्दै स्पेनलाई सेमिफाइनल पुर्याए । स्पेनको यो विश्वकप इतिहासको दोस्रो सेमिफाइनल हो । यसअघि सन् २०१० मा सेमिफाइनल पुगेर दक्षिण अफ्रिकामा पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि स्पेन मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएयता लगातार ३६ खेल अपराजित छ । यस अवधिमा उसले २७ जित र ९ बराबरी खेलेको छ, जुन उसको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो । सुपरकम्प्युटरका अनुसार स्पेनको फाइनल पुग्ने सम्भावना ४२.३ प्रतिशत र उपाधि जित्ने सम्भावना २३.४ प्रतिशत छ । त्यसैले मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलका विजेताले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बेलिङ्घमको लयमा इंग्ल्यान्ड यस विश्वकपमा इंग्ल्यान्डले धेरै प्रभावशाली प्रदर्शन नगरे पनि टोली लगातार जित निकाल्न सफल भएको छ । प्रशिक्षक थोमस टुखेलले पनि नर्वेविरुद्ध टोलीले उत्कृष्ट खेल नखेलेको स्वीकार गरेका थिए । तर इंग्ल्यान्डलाई सेमिफाइनल पुर्याउन जुड बेलिङ्घमले निर्णायक भूमिका खेले । आन्द्रियास शेल्डेरुपले नर्वेलाई अग्रता दिलाएपछि बेलिङ्घमले पहिलो हाफमै बराबरी गोल गरे । अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोक्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गरेका बेलिङ्घमले नर्वेविरुद्ध पनि दुई गोल गरे । एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा बढी गोल गर्ने उनी सन् १९८६ मा डिएगो माराडोना पछि पहिलो खेलाडी बने । सन् २०१८ यता इंग्ल्यान्ड विश्वकप वा युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ । त्यसअघि आफ्नो सम्पूर्ण इतिहासमा पनि इंग्ल्यान्डले यसरी नै चार पटक मात्र अन्तिम चारमा स्थान बनाएको थियो । अप्टा सुपरकम्प्युटरले इंग्ल्यान्डलाई विश्वकप जित्ने तेस्रो ठूलो दाबेदार मानेको छ ।  उपाधि जित्ने सम्भावना २१.९ प्रतिशत र सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना ५०.९ प्रतिशत रहेको अनुमान छ । अर्जेन्टिना अझै पनि खतरनाक सेमिफाइनलमा इंग्ल्यान्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ । यस विश्वकपमा पहिलो पटक लियोनेल मेसी गोल गर्न असफल भए । ३९ वर्षीय मेस्सीलाई गोल गर्न नदिने पहिलो टोली स्विट्जरल्यान्ड बन्यो । तर अर्जेन्टिनालाई त्यसले रोक्न सकेन । मेस्सीकै कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफमा डान एनडोयेले बराबरी गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ग्राफिक्स : अप्टा एनालाइसिस ब्रिल एम्बोलोलाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि डाइभ गरेको ठहर गर्दै दोस्रो पहेँलो कार्डसहित रातो कार्ड दिइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यो अर्जेन्टिनाको विश्वकप इतिहासको १३औं अतिरिक्त समयसम्म पुगेको खेल थियो । तीमध्ये ११ खेलमा (पेनाल्टी सुटआउटसहित) अर्जेन्टिना विजयी भएको छ । यससँगै अर्जेन्टिना र इंग्ल्यान्डबीच सन् २००२ पछि पहिलो पटक विश्वकपमा भेट हुने भएको छ ।  यद्यपि साविक विजेता भए पनि अप्टा सुपरकम्प्युटरले अर्जेन्टिनालाई बाँकी चार टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली मानेको छ । उपाधि जित्ने सम्भावना २०.६ प्रतिशत छ । तर इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भने लगभग बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २५ हजार सिमुलेसनमध्ये ४९.१ प्रतिशतमा अर्जेन्टिना फाइनल पुगेको देखिएको छ । अन्य सामग्रीहरू : इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे  

फेसबुकमा रोजगारीको प्रलोभन देखाएर बंगलादेश भाग्दै गरेका ५ जना पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गर्नुका साथै अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमार्फत ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाएर बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको कोटेश्वर बस्दै आएका महोत्तरीका २९ वर्षीय सुभाषकुमार मण्डल रहेका छन् । यस्तै बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल पनि पक्राउ परेका छन् । उनीहरूलाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीका साथै बाइनान्स मार्फत क्रिप्टो तथा यूएसडीटी  कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।