चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

काठमाडौं । पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब १७ करोडको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ । बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । 'चलचित्र परानलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो', निर्देशक आचार्यले भने । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ । अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी छ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ । दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गरेको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ । यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ । बाल गायकका रुपमा परिचित भएका अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ । टङ्क बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन् । गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा गायक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ । एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् । रासस

आज सुदूरपश्चिम र विराटनगर आमनेसामने, जित्ने टोली सिधै फाइनल पुग्ने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।  सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।  सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले भने ७ मध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई बुझाए ४० पृष्ठको अवधारणापत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनका लागि तयार पारेको विस्तृत अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित कार्यालय पुगेका पोखरेलले आफू निकट नेताहरूको उपस्थितिमा उक्त अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे । अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई आफ्नो अवधारणापत्र बुझाएका हुन् । अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढिरहेका पोखरेलले सार्वजनिक गरेको यो अवधारणापत्र ४० पृष्ठको रहेको छ । नेताहरूका अनुसार उक्त दस्तावेजले पार्टीभित्र नेतृत्व परिवर्तनको स्पष्ट निष्कर्ष प्रस्तुत गरेको छ । महाधिवेशनमा बहसका लागि तयार पारिएको दस्तावेजमा नीति, कार्यदिशा र नेतृत्वमा आवश्यक देखिएको रूपान्तरणका एजेन्डा अघि सारेको बताइएको छ ।