बेलिङ्घमको डबल प्रहारमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा, हालान्डको नर्वे बाहिरियो

काठमाडौं । । जुड बेलिङ्घमले दुई महत्त्वपूर्ण गोल गरेपछि इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टरफाइनलको रोमाञ्चक खेलमा नर्वेले ३६औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपको गोलमार्फत अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले बराबरी गोल फर्काउँदै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए । निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि ९३ औं मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को जित दिलाए ।  जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन् । यससँगै उनले गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदारका रूपमा कायम राखेका छन् । यो जितसँगै इङ्ग्ल्यान्ड आठ वर्षपछि पुनः विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपपछि पहिलो पटक अन्तिम चारमा स्थान बनाएको इङ्ग्ल्यान्डले ६० वर्षपछि दोस्रो विश्वकप उपाधि जित्ने आशा जीवित राखेको छ । यता अर्लिङ हालान्डको प्रेरणामा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेको ऐतिहासिक यात्रा भने अन्त्य भएको छ ।  ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको नर्वे इङ्ग्ल्यान्डविरुद्ध अन्तिम समयसम्म संघर्षरत रहे पनि बेलिङ्घमको निर्णायक गोलले उसको सपना साकार हुन सकेन  । अब इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व माओवादी लडाकु चौधरी ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । पूर्व माओवादी लडाकु एवम् स्वघोषित राजनीतिक विश्लेषक लाहानुराम चौधरी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरेको हो । १० जनाभन्दा बढीलाई युरोप भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । ४६ वर्षीय चौधरीले लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई कार्यालयका टोली पक्राउ गरेको हो । पूर्व माओवादी कमाण्डर चौधरीले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दाहरूमा आफ्नो टिप्पणी गर्दै आएका छन् । उनी कैलाली लम्किचुहा नगरपालिका ६ का स्थायी बासिन्दा हुन भने हाल काठमाडौंको चन्द्रागिरी ५ स्थित थानकोटमा बसोबास गर्दै आएका थिए । पछिल्लो समय एक अन्तवार्तामा उनले प्रधानमन्त्री बालेन शाहले पहिले ५० वर्षपछि देश धकेल्ने प्रचण्डको पाता कस्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै चर्चामा आएका थिए ।

आत्मदाहको प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारकै क्रममा निधन भएको छ । शनिबार बिहान आफ्नै घरको भान्साकोठामा आफूमाथि आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो । उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको उपचारका क्रममा केहीबेरअघि निधन भएको हो । प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।