दार्चुलामा गयो भूकम्प

दशरथचन्द । दार्चुलामा भूकम्प भएको छ ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

आज लिग चरणको अन्तिम खेल हुँदै, प्रतिष्ठाका लागि कर्णाली र जनकपुर भिड्ने

काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपरान्ह ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साबिक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । ६ खेलबाट समान २ अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।      स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।      अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।      दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । रासस