एनपीएलमा आज दुई खेल हुँदै, चितवन र पोखरालाई जित्नै पर्ने दबाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज २ खेल हुँदैछन् । पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । ५ खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट ८ अङ्क जोडेको छ । प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । ५ खेलबाट ४ अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।
हुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई मतदानस्थल थपिए
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदानस्थल आयोगले थप्ने निर्णय गरेको हो । आयोगले दुई वटा मतदानस्थल थप्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताए । नयाँ मतदानस्थल थपिएको परिपत्र आयोगबाट आइसकेको उनले जानकारी दिए । हाल कायम रहेका मतदानस्थलबाहेक थप गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका–२ को महादेव मावि दार्मा मतदान केन्द्रबाट छुट्याएर देवकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदानस्थल कायम भएको छ भने नाम्खा गाउँपालिका–१ को ताङ्गिन गाउँका मतदाताहरुका लागि नमोडाछेमु आविलाई नयाँ मतदानस्थलका रुपमा कामय भएको निर्वाचन अधिकृत रोकायाले बताए । महाकवि लक्ष्मी आवि मतदान केन्द्रमा ४५२ जना मतदाता र नमोडाछेमु आविलाई नयाँ मतदानस्थलको मतदान केन्द्रमा १८५ मतदाता छन् । मतदाता सङ्ख्या बढी र मतदानस्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिँड्नुपर्ने भएपछि जिल्लाबाट ती मतदानस्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरिएको हो । यसैगरी, जिल्लाभरका मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र ‘क’ र ‘ख’ निर्धारण गर्न पनि समितिको बैठकले सिफारिसको भए पनि त्यसको विस्तृत विवरण भने आइसकेको छैन । अब आगामी निर्वाचनका लागि हुम्लामा ६० मतदानस्थल र ६१ वटा मतदान केन्द्र कायम भएका छन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्ला जिल्लाको मतदात सङ्ख्या ३४ हजार ५०२ मतदाता छन् । यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ मतदानस्थल कामय गरिएका थिए ।
मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजिनामा दिएका छन् । विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजिनामाको घोषणा गरेका हुन् । सदनमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरुका अतिरिक्त अन्य दलका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री यादवको मन्तव्यकै क्रममा बाहिरिएपछि विश्वासको मत नपाउने देखेर राजिनामा घोषणा गरे । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैशियतमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी गत कातिक २३ गते नियुक्ति गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरुले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सो रिटको सुनुवाई गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार बुधबार विश्वासको मत लिनका लागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको थियो । मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि अब प्रदेशमा सर्वोच्चको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम फेरी सरकार गठनको बाटो खुलेको छ ।