पशुपतिका ढोकादेखि मन्दिर परिसरसम्म चिटिक्क, तेस्रो साता पनि चल्यो सफाइ
काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत तीन हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको तेस्रो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए । शनिबार (आज) को सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए । भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधिस्थललगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए । यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको ११, १८ र २५ गते पनि सोमबार परेको छ । बाँकी तीन वटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो । भैरहवास्थित बजारमा ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाई बजारमा रु १० हजार पैसा मगिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले राणालाई नियन्त्रणमा लिएको लिएको थियो । राणालाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा निजले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान–१, सवारी चालक अनुमतिपत्र थान–१, लागु औषध गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
चर्को आवाज निकाल्ने ७७३ मोटरसाइकल कारबाहीमा
काठमाडौं । कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तीव्र पारेको छ । ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्ला दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार राति १८ वटा र शुक्रबार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विशेषगरी रातको समयमा बन्दुक पड्किएको जस्तो चर्को आवाज निकाल्ने र मोडिफाइड साइलेन्सर प्रयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियानलाई थप प्रभावकारी बनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार गत असोज २६ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत हालसम्म ७ सय ७३ वटा मोटरसाइकलमाथि कारबाही भइसकेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई अनिवार्य रूपमा सक्कली स्वरूपमा फर्काउन लगाइएको छ । यसका साथै, यातायात व्यवस्था कार्यालयमार्फत २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । उनका अनुसार एउटा मात्र मोटरसाइकलले पनि सहरको ठूलो क्षेत्रलाई आतङ्कित पार्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहनेछ । प्रहरीले यो समस्या समाधानका लागि सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ । आफ्नो टोल वा छिमेकमा चर्को आवाज निकाल्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा त्यसको फोटो वा नम्बर प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले घरमै पुगेर वा यातायातको अभिलेख हेरेर पनि त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । एसपी कार्कीले भने, ‘यस्ता सवारी चालकमा अरूलाई त्रसित बनाएर आनन्द लिने प्रवृत्ति देखिएको छ। यो एक प्रकारको मानसिक विकृति नै हो । समाजमा शान्ति–सुरक्षा खलल पुर्याउने र प्रहरीसँग वादविवाद गर्ने ३६ जना चालकमाथि त हामीले मुद्दासमेत चलाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरिरहेको यो अपरेसनले पोखराको ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको छ ।