स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका स–साना आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ । विभागका बाढीविद् बिनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासकन सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरे । उनले भने, 'नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्तो अवस्थामा नदी तर्न, माछा मार्न, नदीजन्य सामग्री उत्खनन गर्न तथा नदी किनारमा बस्न वा आवतजावत गर्न हुँदैन ।' विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा प्रतिकार्यमा तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाए । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उनले स्वीकार गरे । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौं श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले बताए । बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ । मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।
अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप विजेता
काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा पुगेपछि फेरान टोरेसले १०६औं मिनेटमा गरेको निर्णायक गोलले स्पेनलाई दोस्रो पटक विश्वकप च्याम्पियन बनायो । यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए । त्यसपछि अर्जेन्टिनाले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै खेल्नुपरेको थियो । स्पेनले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले लामो समयसम्म गोल हुन दिएको थिएन । अतिरिक्त समयमा टोरेसले अवसरको सदुपयोग गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन् । यससँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै विश्व फुटबलमा पुनः आफ्नो प्रभुत्व स्थापित गरेको छ । अर्कोतर्फ कतार २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा असफल भयो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यस प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए । स्पेन प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।