एनपीएल: आज विश्राम, भोलि २ खेल हुने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने २ खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार ४ खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । ४ खेलबाट २ खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । ४ खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ । मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजिता सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

एसिसी यू-१९ प्रिमियर कप स् नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।  सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।  तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।

मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा

काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'