मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु, १५ युवाले थाले १८ महिने नाट्य यात्रा
काठमाडौं । मण्डला थिएटर–नेपालले मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच (२०२६–२०२७) का १५ जना विद्यार्थीलाई स्वागत गर्दै १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग परियोजना’ अन्तर्गत सञ्चालन हुने कार्यक्रममा देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत १५ जना विद्यार्थी चयन गरिएको मण्डला थिएटरले जनाएको छ । स्वागत कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले रंगमञ्च संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी कलाकारका रूपमा अघि बढ्न प्रेरित गरिन् । मण्डला ड्रामा स्कूलको १८ महिने पाठ्यक्रममा अभिनय, सिर्जनात्मक लेखन, सामुदायिक रंगमञ्च, प्राविधिक पक्ष तथा स्वतन्त्र नाटक निर्माणलगायतका विषय समेटिएका छन् । प्रशिक्षणमार्फत विद्यार्थीलाई अभ्यास, अनुसन्धान र समुदायसँगको सहकार्यका आधारमा सक्षम, सिर्जनशील र सामाजिक रूपमा सचेत रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखिएको मण्डला थिएटरले जनाएको छ । कार्यक्रमले नेपाली रंगमञ्चका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै कला र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
दृष्टिबन्धकको जग्गा बैंकमा धितो राखेर ४ करोड ठगी, एकै परिवारका तीन पक्राउ
जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए । गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी चार करोड ऋण रुपैयाँ लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए । जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
काठमाडौं । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका जनाएको छ । उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् । चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् । त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ । तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।