कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ ।      यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।      कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरेको छ । 

एनपिएलमा पहिलोपटक विदेशी कप्तान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दैछन् । शनिबार दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् ।    यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपिएल इतिहासमै पहिलो विदेशी खेलाडी बने ।       उनको कप्तानीमा जनकपुरले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट अन्तरराष्ट्रिय मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको पहिले रोजेको छ । लगातार तीन खेल हारेको जनकपुर यो खेल जित्नै पर्ने दबाबमा छ ।   

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौंमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।  निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।