समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् । समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गरेका छन् । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गरे । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ । आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्व तयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन् ।

आज जनकपुर बोल्ट्स र चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार ४ खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । ४ खेलबाट २ खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । ४ खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।