दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रिनोमेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ ।
रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपेरियन्स सिनेमा एक्सपेरियन्स द डिफ्रेन्स’ लाई सार्थक बनाउन हलका हरेक पक्ष– प्रविधि, ध्वनि, सिट, वातावरण जस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा स्टेट अफ दि आर्ट दृश्य प्रविधि बार्को फोर के आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको छ ।
कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बार्को एसपीफोरके– २० सी (सिरिज ४)स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स) को चमक र फोरके (४०९६*२१६०) को नेटिभ रिसोलुसन रहेको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० र डीसीआई ए थ्री कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ ।
पर्दाका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन बिग मुभिजका हलहरूमा १९*४३ फिट, २०*४३ फिट र २०*४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलको ओभरहेड र र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी (५) ए साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउँछ । यी स्पिकरका कारण विशेषगरी एक्सन/साउन्ड इन्टेन्सिभ चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउँछन् ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको हो ।
‘नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैं पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसन मार्फत पुनः प्रमाणित गरेको छ,’ उनले भने ।
‘अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौं,’ उनले थपे ।
उनका अनुसार बिग मुभिजमा अब दर्शक उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र ओभरअल सिनेमा एक्सपेरियन्स गर्न पाउनेछन् ।