काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म मनाइन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिँदै छ ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना गरिन्छ । बिहान नित्यकर्म सकेर नदी वा चोखो स्थानबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखेर त्यसमाथि जौँ रोप्ने चलन छ । यसलाई जमरा राख्ने भनिन्छ ।
जौँको अङ्कुरलाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। घटस्थापनाका दिन रोपिएको जमरा विजयादशमीमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक परम्परा छ ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन । यद्यपि, कुल परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ ।
आज विधिपूर्वक घट अर्थात् कलश स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलले विजयादशमीका दिन अभिषेक गरी देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११:४७ बजे रहेको छ । समितिका अनुसार आज दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो ।
सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको हाे ।
नवरात्रभर दुर्गा देवीका तीन स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको आह्वान गरी पूजा आराधना गरिन्छ । धार्मिक मान्यताअनुसार महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ ।
दुर्गा पक्षका अवसरमा आसुरी प्रवृत्तिका प्रतीक मानिएका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसको वध गर्न देवीले धारण गरेका नौ स्वरूपको विशेष पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको अवधिलाई दुर्गा पक्ष भनिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।
दुर्गा पूजा र दसैँ कुनै जाति वा धर्मविशेषमा सीमित पर्व होइन। यसलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने धार्मिक परम्परा छ । घटस्थापनादेखि महानवमीसम्म प्रत्येक दिन फरक-फरक गरी नौ कन्याको पूजा गर्ने चलन पनि छ। शास्त्रीय विधानअनुसार पूजा गरिने कन्या दुई वर्षभन्दा माथिका हुनुपर्छ ।
बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ। बलि दिने परम्परा भएका स्थानमा धार्मिक विधिअनुसार बलिसहित पूजा गर्ने चलन छ ।
नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र र स्तुतिको पाठपारायण गरिन्छ । यस अवधिमा काठमाडौंका नक्साल भगवती र शोभा भगवती, नालाको भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ ।
नवरात्रका रूपमा चिनिने दसैँ नौ रात र १० दिनको हुन्छ। घटस्थापनाका दिन आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन विसर्जन गरेर मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ । उक्त दिन देवी विसर्जनको साइत बिहान ८:४९ बजे र टीका प्रसाद ग्रहणका लागि बिहान १०:२६ बजेको साइत निर्धारण गरिएको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रातभर जाग्राम रहेर पूजा गर्ने परम्परा छ । यस दिन जाग्राम बस्नेलाई लक्ष्मीले धनधान्य र ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास छ । घटस्थापनाका दिन राखिएको जमरा कोजाग्रत पूर्णिमाका दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।