काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गरेका छन् ।
पार्टीको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत कार्यशैली बदलेर आजैदेखि कांग्रेसको रूपान्तरण सुरु हुने बताएका हुन् ।
सभापति थापाले कांग्रेसको गौरवशाली इतिहास भए पनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको स्पष्ट पारे । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उनको भनाइ छ । सभापति थापाले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको गौरवशाली इतिहास छ । तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ । हामी यस्तो कांग्रेस बनाउनेछौँ, जसलाई किसानले आफ्नो आवाज उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर फर्काउने पार्टीका रूपमा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको भरोसाका रूपमा चिनून् ।’
उनले पार्टीको पुनःसंरचना र नागरिकको भरोसा पुनःआर्जन केवल मौखिक भाषणबाट सम्भव नहुने यथार्थ औँल्याए । पार्टीपंक्तिलाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिँदै उनले कर्ममार्फत परिणाम देखाउनुपर्नेमा विशेष जोड दिए ।
कांग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउन पार्टी सञ्चालनका हरेक कार्यपद्धतिमा आजैदेखि आमूल परिवर्तन सुरु हुने दाबी गर्दै थापाले १५औँ महाधिवेशनले दिएको म्यान्डेट मुलुक र जनताको हितमा पूर्ण रूपमा उपयोग गरिने प्रतिबद्धता जनाए ।