४ लाख ७६ हजार रुपैयाँको भ्रष्टाचार मुद्दामा वडाध्यक्षविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसमेत प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हिनामिना तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

विशेष अदालत, काठमाडौंले सफाइ दिने गरी गरेको फैसलाप्रति चित्त नबुझेपछि आयोगले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो ।

आयोगका अनुसार सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अंसारीसमेतका प्रतिवादीविरुद्ध ४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो असुलउपर गर्न तथा कसुरअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

तर, विशेष अदालतले २०८३ वैशाख ७ गते उक्त मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको थियो । सोही फैसलामा चित्त नबुझेपछि आयोगले २०८३ असोज २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको  छ। 

Share News