कर्णालीले दियो विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं ।  प्रियांक पञ्चाल र विलियम बोसिस्टोको ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किंग्सलाई १६१ रनको बलियो लक्ष्य दिएको छ ।   कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रबार भइरहेको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै, अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे । गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।  

एनपीएल क्रिकेटः काठमाडौंको चितवनलाई १४३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ ।  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

एनपीएल क्रिकेटः आज २ खेल हुँदै, कर्णालीलाई जित्नैपर्ने दबाब

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपरान्ह ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा २ अङ्क मात्र बटुलेको छ । ३ खेलबाट २ अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलबाट ६ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।