काठमाडौं । असोज १ गते अर्थात् श्रम, सीप र कर्मको सम्मान गरिने विश्वकर्मा पूजाकै दिन जन्मिएका पुष्पप्रसाद सिटौला (सरोज) को जीवन र कर्मको यात्रा अनौठो ढङ्गले यातायात क्षेत्रसँग जोडिएको छ ।
ताप्लेजुङको तत्कालीन फुलबारी गाविसस्थित लेकाली भेडीगोठमा जन्मिएका सिटौला आफ्नो जन्मदिन र विश्वकर्मा पूजा एकै दिन मनाउँदै आफूलाई यातायातकर्मको पुजारी मान्छन् ।
२०४५ सालको भूकम्पपछि झापाको काँकडभिट्टाबाट ९६ रुपैयाँ भाडा तिरेर बुद्ध ट्राभल्सको बसमार्फत काठमाडौं प्रवेश गरेको उनको यात्रा बागबजारको पुरानो बसपार्कमा मजदुरका रूपमा सुरु भएको थियो ।
मजदुर जीवनबाटै यातायातको वास्तविक धरातल बुझेका सिटौला विस्तारै व्यवसायी र कुशल संगठनकर्ता हुँदै हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षको सर्वोच्च जिम्मेवारीमा पुगेका छन् ।
२०५५ सालदेखि विभिन्न संघसंस्थामा आबद्ध सिटौलाले २०६३ सालको बुटवल महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वको शिखर चुमेका हुन् ।
आफूले लडेका कुनै पनि चुनावमा पराजय नभोगेको दाबी गर्ने सिटौला २०४६ को परिवर्तन, २०६२/६३ को जनआन्दोलन लगायतका राजनीतिक उतारचढावका प्रत्यक्ष साक्षी र सहयात्रीसमेत रहेका छन् ।
आफ्नो शरीरको रगत-रगतमा यातायात नै बगिरहेको बताउने उनले व्यक्तिगत जीवनभन्दा यस क्षेत्रलाई प्राथमिकता दिँदै प्राकृतिक विपत्ति, महाभूकम्प र कोभिड महामारीजस्ता कठिन परिस्थितिमा पनि यातायात क्षेत्रलाई चलायमान बनाउन निरन्तर संघर्ष गरे ।
यातायातलाई देशको अर्थतन्त्र र विकासको मेरुदण्ड मान्ने सिटौलाले यस क्षेत्रमा अर्बौंको लगानी भइसकेकाले यसलाई सामान्य व्यवसायभन्दा माथि उठाएर उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
राज्यले यातायातको वास्तविक मर्म नबुझेकोमा गुनासो गर्दै उनले सार्वजनिक यातायातको दीर्घकालीन सुधारका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने र जीपीएस प्रणाली, अनलाइन टिकटिङ तथा नगदरहित कारोबार जस्ता आधुनिक प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने एजेन्डा अघि सारेका छन् ।
३६ वर्षभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि नेपालको सार्वजनिक यातायात सहज, यात्रुमैत्री, आरामदायी र सुरक्षित नभएसम्म आफू पूर्ण रूपमा सन्तुष्ट नहुने बताउँदै उनले व्यवसायीको लगानी र मजदुरको रोजीरोटी सुरक्षित गर्दै यातायातलाई प्रविधिमैत्री बनाउन सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।