कमाइबाट सामाजिक काम

समाजसेवा कुनै पद, संस्था वा औपचारिक जिम्मेवारीले मात्र गरिने काम होइन । कसैलाई परेको दुःखमा आफूले सकेको सहयोग गर्नु पनि समाजसेवा हो भन्ने मान्यता राख्ने रञ्जिता डल्लाकोटी लामो समयदेखि सामाजिक सेवामा सक्रिय छिन् ।धादिङको विकट क्षेत्रमा बालबालिका, दलित, कुमाल तथा चेपाङ समुदायसँग काम गर्दै समाजसेवाको यात्रा सुरु गरेकी डल्लाकोटी अमेरिकामा कार्यरत छिन् । तर, भौगोलिक दूरीले उनको समाजसेवाको यात्रालाई रोकेको छैन । अमेरिकामा रहेर पनि उनले नेपालका विपन्न, असहाय, बिरामी, क्यान्सरपीडित, बालबालिका, वृद्धवृद्धा तथा विभिन्न समस्यामा परेका नागरिकलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएकी छन् । 

उनका अनुसार २०२१ यता मात्रै करिब ५०० व्यक्तिलाई व्यक्तिगत रूपमा सहयोग गरिसकेकी छन् । उनी आफूलाई ठूलो रकम दिने व्यक्ति नभई सहयोगको सुरुवात गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छिन् । उनै रञ्जितासँग समाजसेवाको सुरुवात, अमेरिका गएपछि पनि निरन्तरता पाएको सेवा, सहयोगको आवश्यकता पहिचान गर्ने तरिका, समाजसेवामा पारदर्शिता, स्वास्थ्य चेतना, विदेशमा नेपालीले भोग्नुपरेको चुनौतीलगायतका विषयमा विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।

तपाईं समाजसेवामा कसरी प्रवेश गर्नुभयो ?

मेरो जन्मस्थान धादिङको जोगीमारा हो । समाजसेवामा संस्थागत रूपमा लागेको चाहिँ २००९ देखि हो । मलाई कुनै पनि काम गर्न प्रेरणा दिने पहिलो व्यक्ति मेरा बुवा र ममी हुनुहुन्छ ।  म मेरो बुवालाई धेरै सम्झन्छु । म अमेरिका गएपछि बुवाको निधन भयो । उहाँको अन्तिम समयमा म भेट्न पाइनँ । त्यो पीडा अहिले पनि छ । तर मैले समाजसेवामा गरिरहेको कामलाई नै उहाँहरूको संस्कार र शिक्षाको निरन्तरता ठानेकी छु । 

उहाँहरूले सधैं भन्नुहुन्थ्यो नानी, दुःख परेको मान्छे तिमी कहाँ आएर केही सहारा खोज्छ भने तिमीले जे गर्न सक्छौ, त्यो गर । त्यो नै सबैभन्दा ठूलो सेवा हो । त्यही कुरालाई अनुसरण गर्दै मैले समाजसेवाको काम अगाडि बढाएँ । सुरुमा एउटा संस्थामा आबद्ध भएर धादिङ जिल्लाका विभिन्न विकट गाविसमा काम गर्ने अवसर पाएँ । विशेषगरी दलित, कुमाल र चेपाङ समुदायलाई केन्द्रित गरेर काम गरेका थियौं । त्यसमध्ये म कुमाल समुदायसँग बढी नजिक भएँ । 

null

संस्थागत हिसाबले काम गरे पनि मैले कहिल्यै यसलाई तलब-सुविधाका लागि गरिने कामका रूपमा लिइनँ । जब म कुमाल समुदायमा पुगेँ, त्यहाँका मानिसलाई मैले आफ्नै परिवारजस्तो महसुस गरेँ । त्यहाँका भाइबहिनी र समुदायसँगको सम्बन्ध मेरो लागि अविस्मरणीय बन्यो । धादिङजस्तो काठमाडौंको नजिकै रहेको जिल्लामा पनि स्वास्थ्य र शिक्षाको हिसाबले निकै पछाडि परेको समुदाय रहेछ भन्ने त्यहाँ पुगेपछि मात्रै मैले गहिरो रूपमा महसुस गरेँ। त्यहीँबाट मेरो समाजसेवाको यात्राले एउटा छुट्टै अर्थ पायो । 

तपाईंले सिन्धुलीमा पनि लामो समय काम गर्नुभयो । त्यहाँको अनुभवले तपाईंलाई के सिकायो ?

२०१४ बाट एउटा संस्थामा आबद्ध भएर सिन्धुलीमा काम गरेँ । त्यहाँका अत्यन्तै दुर्गम ठाउँमा झन्डै आठ वर्ष बिताएँ । त्यहाँ काम गर्दै गर्दा गाउँका बालबालिका, आमाहरू र समुदायसँग निकै नजिक हुने अवसर पाएँ । सहरमा बसेर हामीले धेरै कुरा अनुमान मात्रै गरेका हुन्छौं । तर दुर्गममा गएर प्रत्यक्ष रूपमा मानिसको जीवन देखेपछि सोच नै परिवर्तन हुँदो रहेछ । कोभिडको समयमा र भूकम्पका बेला पनि संस्थागत रूपमा काम गर्ने अवसर पाएँ । त्यसबाट एउटा कुरा सिकेँ, एउटा संस्था भएर मात्रै होइन, आफू रहुन्जेल, आफ्नो हातखुट्टा चलुन्जेल र आफूले कमाउन्जेल त्यसको केही प्रतिशत दुःखमा परेका मानिसका लागि छुट्याउनुपर्छ । 

२०२१ मा संस्थागत काम छोडेर अमेरिका गएँ । तर अमेरिका पुगेपछि पनि गाउँका बालबालिका, समुदाय र ती मानिसहरू आँखामा झलझली आइरहन्थे । त्यसपछि सोचें, संस्थागत रूपमा हुँदा ठूलो काम गरेको हुन सक्छु । तर व्यक्तिगत रूपमा सानो काम गरे पनि यदि त्यसले कसैको जीवनमा उज्यालो ल्याउँछ भने किन नगर्ने ? कुनै बालबालिकाको अनुहारमा मुस्कान फर्काउन सकिन्छ भने त्यो नै ठूलो कुरा हो भन्ने लाग्यो । त्यसैले आफूले कमाएको केही प्रतिशत नेपालमा आवश्यक परेका मानिसका लागि खर्च गर्न थालेँ । 

एक दशक लामो समाजसेवाको यात्रामा तपाईंलाई सबैभन्दा ठूलो उपलब्धि के लाग्छ ?

पछाडि फर्केर हेर्दा मलाई सबैभन्दा ठूलो उपलब्धि भनेको दुर्गममा रहेका मानिससँग भेट्न पाउनु र उनीहरूको आर्थिक, सामाजिक तथा स्वास्थ्य अवस्था बुझ्न पाउनु हो । उनीहरूको जीवन नजिकबाट नदेखेको भए सायद म अहिले जसरी काम गरिरहेकी छु । त्यसरी गर्न सक्दिनथेँ । मैले संस्थागत रूपमा भूकम्प र कोभिडको समयमा काम गरेँ । व्यक्तिगत रूपमा पनि धेरै काम गरेँ ।

कतिपय अवस्थामा संस्थाले कभर गर्न नसकेका समुदायका आवाज र आवश्यकता व्यक्तिगत रूपमा सम्बोधन गर्ने प्रयास गरेँ। त्यसमा मलाई निकै सन्तुष्टि छ । विशेषगरी बालबालिका र वृद्ध आमाबुवातर्फ मेरो बढी ध्यान हुन्छ । तर मेरो सहयोग कुनै एउटा उमेर, जात वा समूहमा मात्र सीमित छैन । जो व्यक्ति अत्यन्तै अप्ठ्यारोमा छ, जसलाई तत्काल सहयोग आवश्यक छ, उसलाई सकेसम्म सहयोग गर्ने प्रयास गर्छु । 

तपाईंले विशेषगरी कुन क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ?

बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएकी छु । विभिन्न विद्यालयमा कापी, कलम, किताब, ब्यागलगायत सामग्री व्यक्तिगत रूपमा सहयोग गरेकी छु । क्यान्सरपीडित बालबालिकालाई पनि सहयोग गरेकी छु । स्याङ्जाका एक क्यान्सरपीडित बालकका लागि साथीहरूसँग छलफल गरेर रकम जुटाएर सहयोग गरेँ । दृष्टिविहीन दाजुभाइ तथा दिदीबहिनीका लागि पनि काम गरेकी छु ।

उनीहरूमध्ये धेरैमा राम्रो कला हुन्छ । गीत गाउने क्षमता हुन्छ । तर त्यसलाई आम्दानीको माध्यम बनाउन आवश्यक वातावरण र सामग्री नहुन सक्छ । त्यसैले कसैलाई मोबाइल, कसैलाई साउन्ड स्पिकरलगायत सामग्री उपलब्ध गराएर उनीहरूको क्षमता प्रयोग गर्न सहयोग गरेकी छु । त्यस्तै, विभिन्न बिरामीको उपचार तथा अप्रेसनका लागि सहयोग गरेको छु । रुकुम पश्चिममा शान्ति नेपाल भन्ने संस्था र गाउँपालिकासँग समन्वय गरेर पाठेघर खसेका महिलाहरूको स्क्रिनिङ तथा उपचारका लागि रिफर गर्ने काममा पनि सहयोग गरेँ । २०२१ यता व्यक्तिगत रूपमा गरेको सहयोगको संख्या करिब ५०० जनासम्म छ ।

null

तपाईंले सहयोगको सुरुवात गरेर अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने कुरा पनि गर्नुभयो । कुनै उदाहरण छ कि ?

म आफूलाई ठूलो रकम दिने व्यक्ति मान्दिनँ । मेरो सोच के हो भने मैले सुरुवात गरिदिएँ भने अरू हात पनि जोडिन सक्छन् । केही समयअघि एकजना बहिनीलाई करिब २५ लाख रुपैयाँ उपचारका लागि आवश्यक रहेछ । उहाँसँग पैसा नभएर निकै समस्यामा हुनुहुन्थ्यो । मैले व्यक्तिगत रूपमा धेरै दिन सक्ने अवस्था थिएन। तर ५० हजार रुपैयाँबाट सहयोग सुरु गरिदिएँ । मैले ५० हजार दिएको देखेपछि अरू मानिसले पनि सहयोग गर्न थाले ।  अन्ततः उहाँको उपचार भयो । त्यसैले म आफूलाई सुरुवात गरिदिने मान्छे भन्न रुचाउँछु । सबै कुरा म एक्लैले गर्न सक्दिनँ । तर मैले सुरु गरेपछि अरूले पनि उसले सहयोग गरेछ, हामीले पनि गरौं भनेर हात बढाए भने कसैको जीवनमा परिवर्तन आउन सक्छ ।

भोटेकोसी बाढीपछि प्रभावितका लागि तपाईंले के सहयोग गर्नुभयो ?

प्रत्यक्षारूपमा भोटेकोसीका प्रभावित व्यक्तिलाई मैले सहयोग गर्न सकेकी छैन ।  मेरो इच्छा थियो, तर परिस्थितिले साथ दिएन । सरकारको सम्बन्धित मन्त्रालयको कोषमा भने मैले केही रकम सहयोग गरेँ । मेरो घर धादिङको गजुरीमा पनि भएकाले बाढी प्रभावित क्षेत्र नजिकै पर्छ । त्यहाँ बाढीपछि अलपत्र परेका, गाडी रोकिएर बसेका मानिसलाई खाना खुवाउन स्थानीय भाइबहिनीहरूले अभियान चलाउनुभएको थियो ।

त्यसमा मैले पनि रकम सहयोग गरेँ । उहाँहरूले करिब तीन दिनसम्म मानिसलाई खाना खुवाउनुभयो। खाना खुवाएर बाँकी रहेको रकम फेरि सरकारी कोषमा जम्मा गरिदिनुभयो । डाइरेक्ट रूपमा प्रभावित परिवारमा पुगेर सहयोग गर्न चाहन्थेँ। तर म पनि बाहिरबाट भर्खरै आएकी थिएँ । धेरै कुरा मिलाउन सकिनँ । पहिला काम गरेको संस्थासँग पनि कुरा गरेकी थिएँ । उहाँहरूले सम्भव भए १८ महिनासम्म रेस्पोन्समा बसेर काम गर्न सक्ने कुरा गर्नुभएको थियो। तर त्यो सम्भव भएन । त्यसैले भोटेकोसीका प्रभावितलाई मेरो सहयोग अप्रत्यक्ष रूपमा भयो । 

तपाईंले सहयोग गरेपछि व्यक्तिको जीवनमा आएको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?

करिब ९० प्रतिशत अवस्थामा सहयोगको परिणाम राम्रो देखेकी छु । १० प्रतिशतमा भने कहिलेकाहीँ मानिसले भावनात्मक रूपमा झुक्याउने अवस्था पनि हुँदो रहेछ । म विदेशमा बस्ने भएकाले कहिलेकाहीँ मानिसको कुरा सुनेर भावुक भएर सहयोग गर्ने अवस्था आएको छ । अहिलेसम्म दुईजना व्यक्तिलाई त्यही किसिमले बढी भावुक भएर सहयोग गरेँ कि जस्तो लाग्छ । त्यसबाट पनि सिकेकी छु ।

तर उपचार गरेका धेरै बालबालिका अहिले राम्रो भएका खबर आउँछन् । एकजना दिदीको उपचारमा सहयोग गरेकी थिएँ । अहिले उहाँ दुईवटा बच्चाको आमा हुनुहुन्छ र आफ्नै व्यवसाय सुरु गरेर काम गरेर खानुभएको छ । उहाँले कहिलेकाहीँ म्यासेज गरेर तपाईंले गर्दा म अहिले यस्तो हुन सकेँ भन्नुहुन्छ । त्यस्तो खबर सुन्दा निकै खुसी लाग्छ । तर म सहयोग गरेका व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध कायम राख्न खोज्दिनँ । मैले सहयोग गरेको कुनै स्वार्थका लागि होइन । मैले मनले गरेको हो । त्यसैले उनीहरूबाट कुनै फाइदा लिनुपर्ने छैन । तर उनीहरूले खोज्दै म्यासेज गर्नुभयो भने अप्रत्यक्ष रूपमा उहाँहरूको अवस्था बुझिरहेकी हुन्छु । 

पीडित र वास्तविक सहयोग आवश्यक परेको व्यक्तिलाई कसरी पहिचान गर्नुहुन्छ ?

धेरै नागरिकले मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा म्यासेज र फोन गर्नुहुन्छ । तर कसैले आफ्नो समस्या बताउँदैमा मैले तुरुन्तै म सहयोग गर्छु भन्दिनँ । मेरो नेपालमा ठूलो सञ्जाल छ । विभिन्न व्यक्तिमार्फत वास्तविक आर्थिक अवस्था, पीडित हो कि होइन भन्ने कुरा बुझ्ने र विश्लेषण गर्ने गर्छु ।  त्यसपछि मात्रै सहयोग गर्ने निर्णय गर्छु । अर्को महत्त्वपूर्ण कुरा सहयोग सकेसम्म अरूको हातमा पठाउँदिनँ । वास्तविक पीडितलाई नै सहयोग गर्छु । सहयोग पुगेको छ कि छैन भनेर पनि सम्बन्धित व्यक्तिलाई नै बोल्न लगाएर बुझ्छु । 

कस्ता बिरामी वा पीडितलाई सहयोग गर्ने भनेर कुनै निश्चित मापदण्ड छ ?

मैले आफै खोज्दै गएर सहयोग गर्ने होइन । विभिन्न व्यक्तिमार्फत यो मान्छे पीडित छ, असहाय छ, सहयोग गरिदिनुस् भनेर मानिसहरू मकहाँ आउँछन् । त्यसपछि उहाँहरूको अवस्था हेर्छु । यही रोग, यही उमेर वा यही समुदाय भनेर सीमा तोकेको छैन । कतिपय लडेर टाउको फुटेका व्यक्ति छन् । कतिपय क्यान्सरपीडित छन् । घाउ भएर उपचार गर्न नसकेका व्यक्तिहरू पनि छन् । राज्यले पनि सबै नागरिकको आवश्यकता एकैपटक पूरा गर्न सकिरहेको हुँदैन । एउटा व्यक्तिले कति नै गर्न सक्छ र ? तर मेरो सम्पर्कमा आएको व्यक्ति सकेसम्म असहाय नरहोस् भन्ने मेरो प्रयास हुन्छ । थोरै होस् वा धेरै, आफूले सकेको सहयोग गर्ने प्रयास गर्छु । 

null

विदेशमा बसेर आफ्नै देशका नागरिकलाई सहयोग गर्नु चुनौती हो कि अवसर ?

म यसलाई चुनौतीभन्दा अवसरका रूपमा हेर्छु । किनभने विदेशमा बसेर पनि आफ्ना नागरिकलाई सहयोग गर्न पाउनु मेरो भाग्य हो । मातृभूमिमा जन्मिएको मान्छेले टाढा बसेर पनि आफ्ना मान्छेका लागि केही गर्न पाउनु ठूलो कुरा हो। त्यसैले मलाई यो चुनौती होइन, अवसर हो जस्तो लाग्छ ।

तपाईं एक्लैले सहयोग गर्नुहुन्छ कि अरूको पनि साथ हुन्छ ?

मुख्य रूपमा म एक्लैले गर्छु । कुनै संस्था वा निश्चित व्यक्ति यसमा आबद्ध हुनुहुन्न । कहिलेकाहीँ साथीहरूलाई कुनै समस्याबारे सुनाउँछु ।  यस्तो समस्या रहेछ, यसरी सहयोग गर्दा कस्तो होला ? भनेर सोध्छु । साथीहरूले तपाईंमार्फत यति डलर दिइदिनुस् , भन्नुहुन्छ । त्यस्तो अवस्थामा उहाँहरूको रकम पनि सम्बन्धित व्यक्तिलाई पु¥याइदिन्छु । तर नियमित रूपमा सहयोग गर्ने कुनै संस्था वा व्यक्ति छैन । 

समाजसेवाका नाममा पारदर्शिता नहुने र अरूको भावनाबाट फाइदा उठाउने प्रवृत्तिलाई कसरी हेर्नुहुन्छ ?

सबैले पारदर्शिता गर्न खोजेको हुन्छ । तर कहिलेकाहीँ प्राविधिक समस्या पनि आउँछ । उदाहरणका लागि १०/२० हजारको बिल हराउन सक्छ । काम गरेको हो, पैसा दिएको हो, सामान ल्याएको हो, तर प्रमाण राख्न नसक्दा खायो, गर्यो भन्ने आरोप आउन सक्छ । तर कतिपय मानिस भने अरूको भावनालाई नै प्रयोग गरेर पैसा कमाउने नियतमा हुन्छन् । त्यस्तो प्रवृत्ति हुनु हुँदैन । कसैको दुःख र भावनालाई बेचेर धनी बन्नु हुँदैन भन्ने मेरो मान्यता हो ।  त्यसैले सकेसम्म स्वच्छ भएर बाँच्न र मर्न सकियो भने आत्मसन्तुष्टि हुन्छ । अरूको भावनामा खेलेर पैसा कमाउनुको अर्थ छैन । 

नेपालको प्रमुख सामाजिक समस्या के हो जस्तो लाग्छ ?

नेपालको सामाजिक समस्या यही हो भनेर एउटै शब्दमा भन्न गाह्रो छ । भूगोलअनुसार समस्या फरक छ । दुर्गम गाउँको समस्या अर्कै हुन्छ । सहरमा बस्नेको समस्या अर्कै हुन्छ । कतै बिजुलीको समस्या होला, कतै शिक्षा र स्वास्थ्यको । सहरका मानिसले गाउँलाई पनि सहरजस्तै सोचिदिनुपर्छ भन्ने मेरो मान्यता छ । तर शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधारका क्षेत्रमा सुधार भएको छ ।

साक्षरता दर पनि पहिलेको तुलनामा निकै बढेको छ । पहिला एक/दुई ठाउँमा मात्र विद्यालय पुगेर एसईई दिनुपर्ने अवस्था थियो भने अहिले आफ्नै ठाउँमा परीक्षा दिन सकिने अवस्था बनेको छ । डिग्री अध्ययन गर्ने अवसर पनि बढेको छ । हामीले नेपाललाई अन्य देशसँग मात्र तुलना गरेर हुँदैन । हाम्रो भौगोलिक अवस्था फरक छ । सामाजिक र भौतिक संरचना पनि फरक छन् । त्यसैले हाम्रो अवस्थालाई हेरेर क्रमशः सुधार गर्दै जानुपर्छ । 

स्वास्थ्य क्षेत्रमा अझै के सुधार आवश्यक देख्नुहुन्छ ?

मैले सबैभन्दा बढी समस्या स्वास्थ्य क्षेत्रमा देखेकी छु । पहिला कतिपय ठाउँमा सिटामोलसमेत पाइँदैनथ्यो । अहिले त्यो अवस्था धेरै सुधार भएको छ । बाटोघाटो, बिजुली, सूचना र पूर्वाधार पनि विकास भएको छ । तर कतिपय ठाउँमा स्वास्थ्यचौकी भएर पनि समयमा चेकअप नहुने अवस्था छ ।

समयमै चेकअप गरियो भने शरीरमा के भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ । ठूलो समस्या सानोमै पहिचान गरेर नियन्त्रण गर्न सकिन्छ । अझै पनि स्वास्थ्य चेतनाको कमी छ । धेरै मानिसलाई एकैपटक ठूलो रोग लागेपछि मात्रै अस्पताल जाने बानी छ । स्रोत र साधन हुँदाहुँदै पनि त्यसको सदुपयोग गर्ने चेतना पर्याप्त छैन । यसमा सुधार गर्न आवश्यक छ । कमाएको पैसा सबै खर्च गर्नुभन्दा स्वास्थ्यका लागि केही बचत गर्ने बानी बसाल्नुपर्छ । उदाहरणका लागि १०० रुपैयाँ कमाउँदा १० रुपैयाँ उपचारका लागि छुट्याएर बचत गर्न सकियो भने पनि भविष्यमा राहत मिल्न सक्छ ।

अमेरिकामा बसेर तपाईंले कस्ता चुनौती भोग्नुभयो ?

विदेश जानेबित्तिकै सबै कुरा सजिलो हुँदैन । कुनै पनि देशमा गएपछि धेरै कुरा शून्यबाट सुरु गर्नुपर्छ । सबैभन्दा ठूलो चुनौती काम हो । नेपालमा आफूले पढेको वा सिकेको क्षेत्रमा काम गर्छु भन्ने सोच हुन्छ । तर विदेशमा त्यही काम पाउन गाह्रो हुन सक्छ । कामको आवश्यकता अनुसार जुनसुकै काम गर्नुपर्ने हुन्छ । तर विदेशमा एउटा कुरा सिक्न सकिन्छ- कामको महत्त्व र सम्मान । कुनै काम सानो-ठूलो हुँदैन । 

मैले पनि सुरुमा अमेजनमा काम गरेँ । त्यहाँ एटीएस अर्थात् डेलिभरीतर्फ ड्राइभरहरू सामान लिन आउँदा सामान दिने, लाइसेन्स स्क्यान गर्ने, उनीहरूले ल्याएका सामान रिसिभ गर्ने र स्टोर गर्ने काम गरे । नेपालमा हुँदा कुर्सीमा बसेर ल्यापटप चलाएर काम गर्ने बानी थियो भने विदेशमा दौडेर, कुदेर काम गर्नुपर्यो । अहिले अमेरिकामा फेन्सी स्टोरको सानो व्यवसाय पनि गरिरहेकी छु । हाम्रो परिवार पनि अमेरिकामै बस्छ ।

विदेशमा काम गर्दा समयको महत्त्व कस्तो हुन्छ ?

अमेरिकामा स्टेटअनुसार प्रतिघण्टाका हिसाबले पारिश्रमिक निर्धारण हुन्छ । समयको एकदमै ठूलो महत्त्व हुन्छ । पाँच मिनेट ढिला पुग्दा पनि तलब काटिन सक्छ । छिटो पुगेर काम गरियो भने त्यसअनुसार पारिश्रमिक पनि हुन्छ । नेपालमा जस्तो आज अलि ढिला भयो भनेर सजिलै चल्ने अवस्था हुँदैन । समय र कामप्रतिको जिम्मेवारी निकै महत्त्वपूर्ण हुन्छ । 

अहिले धेरै युवा विदेश जान चाहन्छन् । उनीहरूलाई तपाईंको सुझाव के छ ?

नेपालमा पनि अवसर नभएका होइनन् । अवसर छन् । तर हामीले दीर्घकालीन रूपमा ती अवसरलाई विकास गर्न सकेका छैनौं । विदेश भनेपछि अमेरिका, क्यानडा, अस्ट्रेलिया कल्पना गरिन्छ । गएपछि धेरै पैसा हुन्छ भन्ने सोच हुन्छ । तर वास्तविकता त्यस्तो मात्र होइन । विदेश गएपछि पनि काम गर्नुपर्छ। दुःख गर्नुपर्छ । मेहनत गर्नुपर्छ ।  धेरै बचत नहुन पनि सक्छ । कमाएको पैसाबाट सरकारलाई कर तिर्नुपर्छ । काम चाहिँ जस्तोसुकै गर्नुपर्ने हुन सक्छ । तर सकेसम्म नेपालमै लगानी गर्नुपर्छ । उद्योग-कलकारखाना खोल्नुपर्छ । आफूले पनि काम गर्ने र अरूलाई पनि रोजगारी दिने वातावरण बनाउनुपर्छ । विदेश जाने निर्णय व्यक्तिगत आवश्यकता र परिस्थितिअनुसार हुन सक्छ । तर विदेश नै सबै समस्याको समाधान हो भन्ने सोच राख्नु हुँदैन । नेपालमै अवसर सिर्जना गर्न सकियो भने आफ्नो देशमा बसेर पनि राम्रो गर्न सकिन्छ ।

अन्त्यमा तपाईंको समाजसेवाको यात्राको मूल उद्देश्य के हो ?

मेरो मूल उद्देश्य ठूलो काम गरेको देखाउनु होइन । कसैलाई परेको दुःखमा आफूले सकेको सहयोग गर्नु हो । मसँग धेरै धनसम्पत्ति छैन । मन ठूलो छ, तर म सम्पन्न व्यक्ति होइन। त्यसैले म ठूलो रकम दिएर सबै समस्या समाधान गर्न सक्दिनँ । तर जहाँ एकदमै गाह्रो परेको छ, त्यहाँबाट सहयोगको सुरुवात गर्न सक्छु । मलाई विश्वास छ, एउटा व्यक्तिले सुरु गरेको सानो सहयोगले अरू धेरै हात जोड्न सक्छ ।

कसैको उपचार हुन सक्छ, कुनै बालबालिकाको पढाइ अघि बढ्न सक्छ, कुनै आमाको जीवन बच्न सक्छ । त्यसैले मैले आफूलाई समाजसेवीभन्दा पनि आवश्यक परेको ठाउँमा सहयोगको सुरुवात गर्ने मान्छेका रूपमा हेर्छु । मानिसले अन्ततः आफूसँग भएको केही पनि लिएर जाँदैन । त्यसैले आफूले बाँचुन्जेल सकेको राम्रो काम गर्न सकियो भने त्यही नै सबैभन्दा ठूलो उपलब्धि हो । 

Share News