गर्भावस्थालाई सामान्य नठानौं

मातृ मृत्यु घटाउन समयमै स्वास्थ्य संस्थामा रिफरल हुनु निकै महत्त्वपूर्ण छ ।

प्रविधिको विकाससँगै प्रसूति सेवामा जटिल शल्यक्रियादेखि जोखिमपूर्ण गर्भावस्थाको उपचारसम्म सम्भव हुँदै गएको छ । सुरक्षित मातृत्वका लागि सरकारी कार्यक्रम र स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहे पनि मातृमृत्युका घटना भने रोकिएका छैनन् । आखिर, उपचारका सुविधा बढ्दा पनि किन ज्यान गुमाइरहेका छन् गर्भवती र सुत्केरी महिला ? चिकित्सकहरूका अनुसार गर्भावस्थालाई सामान्य अवस्थाका रूपमा लिने प्रवृत्ति, नियमित स्वास्थ्य परीक्षणमा बेवास्ता, नसर्ने रोगको बढ्दो भार र जटिलता देखिएपछि पनि समयमै उपचार तथा उपयुक्त स्वास्थ्य संस्थामा रिफर हुन नसक्नु मातृमृत्यु न्यूनीकरणका प्रमुख चुनौती हुन् । गर्भावस्थामा देखिने जोखिम समयमै पहिचान गर्ने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा सुनिश्चित गर्ने र जटिल अवस्थामा तत्काल उपचार उपलब्ध गराउने विषय अझै उत्तिकै महत्त्वपूर्ण छन् । यिनै चुनौती, मातृमृत्युका कारण र सुरक्षित मातृत्वका लागि आवश्यक सावधानीबारे थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. बबिता साहसँग गरिएको कुराकानीको सम्पादित अंश । 

नेपालकै सबैभन्दा बढी चाप हुने प्रसूति अस्पतालमा लामो समयदेखि कार्यरत हुनुहुन्छ । काम सुरु गर्दाका दिनदेखि अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

सुरुका दिनमा नयाँ भएकाले काम गर्न केही गाह्रो भएको थियो । लामो समयसम्म नाइट ड्युटी गर्नुपर्ने, समयमा खाना खान नपाइने, बिरामीको चाप धेरै हुने र जटिल प्रकृतिका केसहरू आउनेजस्ता चुनौती थिए । सबै बिरामीलाई सम्हाल्नुपर्ने जिम्मेवारी पनि थियो । तर, काम गर्दै जाँदा अनुभव बढ्दै गयो र अहिले तुलनात्मक रूपमा सहज भएको छ ।

प्रसूति अस्पतालमा दैनिक सयौंको संख्यामा गर्भवती तथा प्रसूति गराउने बिरामी पनि उत्तिकै आउँछन् । सीमित स्रोतसाधनका बीच गुणस्तरीय सेवा दिन कसरी सम्भव भइरहेको छ ?

अहिले हाम्रा चिकित्सक र सहयोगी कर्मचारीहरू सबै समयमै काममा उपस्थित हुने गर्नुभएको छ । हामीले बिरामीको अवस्था र जटिलताका आधारमा छुट्याएर उपचार गर्छौं । विशेषगरी आकस्मिक कक्षमा ट्रायज प्रणालीअनुसार बिरामीको प्राथमिकता निर्धारण गरिन्छ । जसलाई जति जटिलता छ, त्यसअनुसार उपचारको व्यवस्था गरिन्छ । यसरी काम गर्दा सेवा प्रवाह सहज भइरहेको छ र राम्रोसँग उपचार गर्न सकिएको छ ।

लामो समयदेखि काम गरिरहँदा पहिलेको तुलनामा उपचार सेवा, बिरामीको सचेतना र अस्पतालका सुविधामा कस्ता परिवर्तन देख्नुभएको छ ?

पहिलेको तुलनामा अहिले बिरामीहरू पनि धेरै बुझ्ने भएका छन् । आफ्नो स्वास्थ्यप्रति सतर्क भएर समयमै स्वास्थ्य जाँच गराउनेको संख्या बढ्दो छ भने  अस्पतालमा आवश्यक भौतिक सामग्रीहरू पनि समयमा उपलब्ध भइरहेका छन् । बिरामी तथा परिवारबाट पनि सहयोग प्राप्त हुन्छ । चिकित्सक र सहयोगी कर्मचारीले राम्रोसँग काम गर्न पाएमा सेवा अझ प्रभावकारी हुन्छ ।

null

स्त्रीरोग विशेषज्ञ डा. बबिता साह ।

स्त्रीरोग विशेषज्ञका रूपमा काम गरिरहँदा जटिल वा चुनौतीपूर्ण केस सम्हालेका केही अविस्मरणीय अनुभव छन् कि ?

यस्ता धेरै केसहरू छन् । एक्लाम्प्सिया अर्थात् गर्भावस्था वा प्रसूतिको समयमा रक्तचाप अत्यधिक बढेर आमालाई कम्पन आउने वा छारे रोगजस्तो हुने, अत्यधिक रक्तस्राव हुने, पाठेघरबाहिर गर्भ बसेर पाठेघरको नली फुट्ने जस्ता जटिल केसहरू पनि आउँछन् ।

यस्ता अवस्थामा उपचार गर्नु निकै चुनौतीपूर्ण हुन्छ । कहिलेकाहीँ सामान्य प्रसूति गराउँदागराउँदै पनि धेरै रगत बग्न सक्छ । त्यस्तो अवस्थामा रक्तस्राव रोक्नुपर्ने हुन्छ । शल्यक्रिया गर्दागर्दै पनि बिरामीलाई कम्पन आउन सक्छ । तर, समयमै उपचार गरेर आमा र बच्चा दुवैलाई सुरक्षित राख्न सकिएका धेरै अनुभव छन् । 

अत्यधिक रक्तस्राव भएका अवस्थामा रगत रोक्दै, आवश्यक उपचार गर्दै आमा र बच्चा दुवैलाई बचाएर घर पठाउन सक्दा निकै खुसी लाग्छ । जटिल अवस्थाबाट बिरामीलाई सुरक्षित निकाल्न सक्नु चिकित्सकका लागि सन्तोषको विषय हो ।

सरकारले लामो समयदेखि सुरक्षित मातृत्व कार्यक्रम, निःशुल्क प्रसूति सेवा र दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यी कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा कस्तो परिवर्तन ल्याएका छन् ?

पहिले कतिपय महिलाले घाँस काट्न जङ्गल गएको समयमा त्यहीँ बच्चा जन्माउनुपर्ने अवस्था थियो । अहिले सरकारले विभिन्न सुविधा उपलब्ध गराएपछि महिलाहरू अस्पतालमै प्रसूति गराउनुपर्छ भन्ने बुझाइका साथ स्वास्थ्य संस्थामा आउन थालेका छन् । यसले आमा र शिशुको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याएको छ ।

टाढा तथा सुविधाविहीन ठाउँमा रहेका गर्भवती र सुत्केरीलाई अस्पतालसम्म ल्याउन हवाई उद्धारको व्यवस्था पनि गरिएको छ । यसले दुर्गम क्षेत्रका महिलालाई सेवा लिन सहयोग पुगेको छ । अस्पतालमा नयाँ भौतिक सामग्री तथा उपकरणहरू थपिँदै जाँदा उपचार सेवा पनि पहिलेभन्दा राम्रो हुँदै गएको छ ।

यति धेरै कार्यक्रम र सुविधा हुँदाहुँदै पनि सुविधा सम्पन्न अस्पतालमै सुत्केरीको मृत्यु हुने घटना भइरहेका छन् । यसमा कसको कमजोरी देख्नुहुन्छ ?

यसमा कसैलाई दोष दिएर हुँदैन । कहिले हामी चिकित्सकलाई दोष दिन्छौं, कहिले बिरामीलाई दोष दिन्छौं । तर, दोषारोपणभन्दा पनि कसरी आमा र बच्चालाई सुरक्षित राख्न सकिन्छ भन्ने सोच्नुपर्छ ।

कतिपय महिलाहरू समयमै स्वास्थ्य जाँच गराउन आउँछन् भने कतिपय आउँदैनन् । अझै पनि केही ठाउँमा स्वास्थ्यसम्बन्धी शिक्षा र सचेतना पर्याप्त पुगेको छैन । पहिले घरमै बच्चा जन्माइएको थियो, अहिले पनि घरमै जन्माउन सकिन्छ भन्ने सोच कतिपय परिवारमा छ । त्यसैले अस्पताल जानुपर्ने आवश्यकतालाई गम्भीर रूपमा नलिने अवस्था पनि छ ।

अर्कोतर्फ गर्भावस्थामा सुगर, प्रेसर, थाइरोइडलगायत विभिन्न स्वास्थ्य समस्या हुन सक्छन् । गर्भावस्थामा हुने हर्मोनल परिवर्तनका कारण पनि जटिलता आउन सक्छ । नियमित स्वास्थ्य जाँच नगराउँदा यस्ता समस्या समयमै पत्ता नलाग्न सक्छन् ।

कतिपय जटिलता भने अचानक पनि आउन सक्छन् । बच्चा जन्मनुअघि साल छुट्टिने, आमालाई कम्पन आउने वा एम्नियोटिक फ्लुड एम्बोलिजमजस्ता अवस्था त्यसका उदाहरण हुन् ।

यस्ता समस्या नआउन् भनेर हामीले पहिलेदेखि नै जाँच, उपचार र परामर्श गरिरहेका हुन्छौं । तर, सबै जटिलता रोक्न सम्भव नहुन सक्छ र कहिलेकाहीँ उपचार गर्दागर्दै पनि कठिन अवस्था आउँछ । त्यसैले चिकित्सक वा बिरामीलाई मात्रै दोष दिनुभन्दा समयमै स्वास्थ्य जाँच, उचित उपचार, आवश्यक सुविधा र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म कुन अवधिलाई बढी जोखिमपूर्ण मान्नुपर्छ ?

गर्भावस्थाको सुरुदेखि नै स्वास्थ्यप्रति सचेत हुनुपर्छ । अहिलेको खानपान र जीवनशैलीले पनि स्वास्थ्यमा असर पारिरहेको छ । त्यसैले जङ्क फुड तथा बाहिरका अस्वस्थकर खानेकुरा कम खाने, उपयुक्त शारीरिक व्यायाम गर्ने र निर्धारित समयअनुसार नियमित स्वास्थ्य जाँच गराउने गर्नुपर्छ ।

चिकित्सकले दिएको सल्लाहअनुसार फलोअपमा आउनुपर्छ र औषधी नियमित खानुपर्छ । गर्भावस्थाको सुरुवाती तीन महिनामा फोलिक एसिड आवश्यक हुन्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार आइरन र क्याल्सियम लिनुपर्छ ।

गर्भावस्थामा शरीरलाई आवश्यक पोषक तत्त्व नपुग्दा रगतको कमी अर्थात् एनिमिया हुने, पोषणको समस्या आउने र समय नपुगी बच्चा जन्मिने जोखिम बढ्न सक्छ । त्यसैले गर्भवती महिलालाई खानपान, व्यायाम, नियमित स्वास्थ्य जाँच र फलोअपका विषयमा उचित परामर्श दिनुपर्छ । स्वास्थ्य जाँचमा देखिएका समस्याअनुसार उपचार गर्नुपर्छ ।

पछिल्लो समय सामान्य प्रसूतिको तुलनामा सिजेरियनबाट बच्चा जन्माउने क्रम बढेको छ । यसको कारण के हो ?

सरकारी अस्पतालमा सामान्यतया चिकित्सकीय आवश्यकता र अवस्थाअनुसार शल्यक्रिया गरिन्छ । निजी अस्पतालमा भने कतिपय महिलाले प्रसव पीडा सहन नसक्ने वा अरूले प्रसव पीडा भोगेको देखेर डराउने कारणले शल्यक्रिया गरेर बच्चा जन्माउन चाहन्छन् ।

उनीहरूलाई शल्यक्रिया गरेपछि सहजै बच्चा जन्माएर घर जान सकिन्छ भन्ने लाग्न सक्छ । यस्तो सोचले पनि शल्यक्रियाको सङ्ख्या बढ्नमा भूमिका खेलेको हुन्छ । तर, शल्यक्रिया आवश्यक छ कि छैन भन्ने कुरा गर्भवतीको स्वास्थ्य अवस्था र चिकित्सकीय आवश्यकताका आधारमा निर्णय गर्नुपर्छ । 

सिजेरियन बढ्नुमा चिकित्सकहरूले पनि जोखिम लिन नचाहने प्रवृत्तिले भूमिका खेलेको हो कि ?

सरकारी अस्पतालमा त्यस्तो अवस्था छैन । निजी क्षेत्रमा भने विभिन्न परिस्थितिका कारण जोखिम लिन गाह्रो हुने अवस्था हुन सक्छ । अहिले चिकित्सकहरूलाई पनि काम गर्न धेरै चुनौतीपूर्ण भएको छ । यस विषयमा उचित नियम र व्यवस्था आवश्यक छ, जसले चिकित्सकलाई सहज वातावरणमा काम गर्न सहयोग गरोस् ।

कुनै समस्या हुँदा सबै दोष चिकित्सकको लापरबाहीलाई मात्रै दिने प्रवृत्ति पनि छ । तर, बिरामीले चिकित्सकको सल्लाहअनुसार उपचार गराएको छ कि छैन, औषधी समयमा खाएको छ कि छैन र स्वास्थ्य संस्थामा ढिलो आएको हो कि होइन भन्ने पक्ष पनि बुझ्नुपर्छ ।

कतिपय अवस्थामा बिरामीले औषधी समयमा नलिँदा वा उपचारमा ढिलाइ हुँदा समस्या जटिल बन्न सक्छ । त्यसैले चिकित्सक र बिरामी दुवै पक्षको जिम्मेवारी बुझ्ने तथा उपचार प्रणालीलाई व्यवस्थित बनाउने काम आवश्यक छ ।
बच्चा जन्मिएपछि आमा सुरक्षित भइन् भन्ने धेरैलाई लाग्छ । 

तर, मातृमृत्युका घटनामध्ये सुत्केरी भइसकेपछि हुने मृत्यु पनि उल्लेख्य छन् । सुत्केरी भएको कति समयसम्म जोखिम रहन्छ ? परिवारले के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?

बच्चा जन्मिएपछि पनि आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सुत्केरी भएको सुरुका २४ देखि ४८ घण्टासम्म विशेष निगरानी आवश्यक हुन्छ । त्यसपछि पनि रक्तचाप, रक्तस्राव, ज्वरो र अन्य लक्षणमा ध्यान दिनुपर्छ ।सुत्केरी भएपछि रक्तचाप नापिराख्ने, खानपानमा ध्यान दिने र सरसफाइ कायम राख्ने गर्नुपर्छ । ज्वरो आएमा, रक्तचाप बढेमा वा कम्पन आउनेजस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ । सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण अर्थात् सेप्सिसको जोखिम हुन सक्छ ।

अर्को महत्त्वपूर्ण कुरा, सुत्केरीपछि रगत बगिरहेको छ भने त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन । कतिपय महिलाले रगत बगिरहेको कुरा परिवारलाई भन्दैनन् केही समय पर्खेर हेरौं भन्ने सोच्छन् । तर, अत्यधिक रक्तस्रावले ज्यानै जोखिममा पार्न सक्छ । त्यसैले कुनै असामान्य लक्षण देखिएमा लुकाएर नबस्ने र तुरुन्तै उपचार लिनुपर्छ ।

गर्भावस्थामा सुगर, प्रेसर र थाइराइडमध्ये कुन समस्या बढी देख्नुभएको छ ?

अहिले प्रेसर र सुगरको समस्या तुलनात्मक रूपमा बढी देखिरहेको छ । हर्मोनल परिवर्तनका कारण कसैलाई यस्तो समस्या आउन सक्छ भने कसैमा नआउन पनि सक्छ । कतिपयमा वंशानुगत कारणले पनि समस्या देखिन सक्छ । त्यसैले नियमित जाँच गराएर स्वास्थ्य अवस्थाबारे थाहा पाउनु आवश्यक छ ।

सरकारी अस्पतालमा सेवा अझ सहज र प्रभावकारी बनाउन के–कस्ता भौतिक सुविधा तथा जनशक्ति आवश्यक देख्नुहुन्छ ?

बिरामीको चापअनुसार चिकित्सक र अन्य स्वास्थ्यकर्मीको संख्या बढाउनुपर्छ । आईसीयू, एनआईसीयू तथा आवश्यक विशेष उपचार सेवाहरूको क्षमता पनि बिरामीको चापअनुसार विस्तार गर्नुपर्छ । त्यसैगरी, अप्रेसन थिएटरहरू व्यवस्थित र आधुनिक हुनुपर्छ । आवश्यक उपकरण तथा इन्स्ट्रुमेन्ट पर्याप्त हुनुपर्छ । अस्पतालका विभिन्न स्थानमा आवश्यकताअनुसार शल्यक्रिया कक्ष र उपचारका सुविधा उपलब्ध हुनुपर्छ ।

चिकित्सकहरूलाई सहज वातावरणमा काम गर्न सक्ने अवस्था सिर्जना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । उहाँहरूलाई आफ्नो काम गर्ने ठाउँमा सुरक्षित हुनुहुन्छ, संस्थाले साथ दिन्छ र भविष्य सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्छ ।

काठमाडौंबाहिर तथा दुर्गम क्षेत्रका सरकारी अस्पतालमा स्त्रीरोग विशेषज्ञको उपलब्धता कम छ । गुणस्तरीय प्रसूति सेवा देशभर पुर्याउन सरकारले के गर्नुपर्छ ? चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्नुको कारण के देख्नुहुन्छ ?

दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकले पनि धेरै जोखिमपूर्ण अवस्था सामना गर्नुपर्ने हुन्छ । आकस्मिक र जटिल केसहरू आउँछन् । चिकित्सकले आफ्नो तर्फबाट उपचार गर्दागर्दै पनि बिरामीलाई बचाउन नसक्दा कुटपिट वा दुर्व्यवहारको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो वातावरणले चिकित्सकलाई असहज बनाउँछ ।

त्यसैले सरकारले चिकित्सकलाई सुरक्षित वातावरण उपलब्ध गराउनुपर्छ । उहाँहरूलाई तपाईं सुरक्षित हुनुहुन्छ, आफ्नो काम गर्नूहोस्, संस्था र सरकार तपाईंको साथमा छन् भन्ने विश्वास दिलाउनुपर्छ । चिकित्सकको सुरक्षा, पेसागत विकास र करिअरलाई पनि सहयोग गर्नुपर्छ । यस्तो व्यवस्था भयो भने दुर्गम क्षेत्रमा पनि चिकित्सकलाई काम गर्न सहज हुनेछ ।

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक कति बिरामी आउँछन् ? यहाँले दैनिक कति बिरामीको उपचारमा संलग्न हुनुपर्छ ?

हाम्रो अस्पतालमा बिरामीको चाप धेरै छ । बहिरङ्ग सेवा (ओपीडी) मा दैनिक करिब ५०० देखि ६०० जना बिरामी आउने गर्नुहुन्छ । सबै सेवा र विभागको चाप जोड्दा दैनिक करिब एक हजारसम्म बिरामी पुग्ने अवस्था हुन्छ । आकस्मिक सेवामा पनि दैनिक बिरामीको चाप धेरै हुन्छ । सामान्यतया ९० जनाभन्दा बढी र कतिपय दिन १२० देखि १३० जनासम्म बिरामी आउने गर्नुहुन्छ । आकस्मिक सेवामा बाहिरबाट उपचार लिएर जाने र भर्ना भएर उपचार गर्नुपर्ने दुवै प्रकारका बिरामी हुन्छन् । वार्डमा भर्ना भएका बिरामीको उपचार र हेरचाहको जिम्मेवारी पनि हुन्छ । यति धेरै बिरामीको चापलाई व्यवस्थापन गर्दै सेवा दिनुपर्ने हुन्छ ।

दैनिक यति धेरै बिरामी आउँदा त्यसअनुसार अस्पतालमा पर्याप्त जनशक्ति छ ?

अहिले हाम्रो अस्पतालमा सेवा र सुविधा राम्रै छ । अहिलेसम्म उपलब्ध जनशक्ति र सुविधाका आधारमा काम भइरहेको छ । तर, समग्रमा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति र सुविधाको व्यवस्थापन हुनु महत्त्वपूर्ण हुन्छ ।

दशैंजस्ता चाडपर्व नजिकिँदा अस्पतालमा काम गर्न कस्ता चुनौती आउँछन् ? 

चाडपर्वको समयमा सबैलाई आफ्नो घर जान र परिवारसँग समय बिताउन मन लाग्छ ।  हामीलाई पनि त्यस्तै लाग्छ । तर, हामीले स्वास्थ्य सेवा दिने पेसा रोज्दा जस्तोसुकै अवस्थामा पनि बिरामीको उपचार गर्नुपर्छ भन्ने सोचेर आएका हुन्छौं । त्यसैले आफ्नो समय र जिम्मेवारी मिलाएर काम गर्छौं । आमा र बच्चालाई सुरक्षित बनाएर घर पठाउन सक्दा तथा महिला दिदीबहिनीलाई राम्रो उपचार दिन सक्दा खुसी लाग्छ । यही जिम्मेवारीबोधका कारण हामीले चाडपर्वमा पनि सेवा निरन्तरता दिन्छौं । 

तथ्यांक हेर्दा सरकारले अपेक्षा गरेअनुसार मातृ मृत्यु घटाउन सकिरहेको छैन भानिन्छ । मातृमृत्यु रोक्न सरकारले के-कस्ता कदम चाल्नुपर्छ ?

मातृ मृत्यु घटाउन समयमै स्वास्थ्य संस्थामा रिफरल हुनु निकै महत्त्वपूर्ण छ । दुर्गम क्षेत्रबाट जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरीलाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा पठाउनुपर्छ । कहिलेकाहीँ बिरामी अस्पताल आइपुग्दासम्म धेरै ढिला भइसकेको हुन्छ । हामीले आकस्मिक कक्षमा उपचार सुरु गर्दा पनि ढिलाइका कारण बिरामीको अवस्था गम्भीर हुन सक्छ । अर्कोतर्फ, उपचारमा आवश्यक पर्ने सामग्री र उपकरण पर्याप्त हुनुपर्छ । कतिपय अवस्थामा आवश्यक सामग्री प्रयोग गर्न नसक्दा समस्या हुन सक्छ । 

बिरामीले औषधी समयमा नलिने वा उपचारमा ढिलाइ गर्ने अवस्था पनि देखिन्छ । त्यसैले स्वास्थ्य सेवा प्रणालीको व्यवस्थापनदेखि बिरामीको सचेतनासम्म सबै पक्षमा सुधार आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मी पर्याप्त हुने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्छ । आवश्यकताअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गर्नुपर्छ । त्यसैगरी, आईसीयू, एनआईसीयू तथा अन्य विशेष उपचार सेवाको क्षमता बढाउनुपर्छ। बिरामीको चापअनुसार स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र उपचार सेवाको व्यवस्थापन भयो भने जटिल अवस्थामा रहेका आमाहरूलाई समयमै उपचार दिन सकिन्छ । यसले मातृ मृत्यु घटाउन सहयोग पुग्छ ।

अस्पतालको सेवा र आफ्नो अनुभवका विषयमा मैले सोध्न छुटाएको तर तपाईंले भन्न चाहेको केही कुरा छ ?

सरकारले अहिले महिलाहरूका लागि धेरै राम्रा सुविधा उपलब्ध गराएको छ । निःशुल्क सेवा पनि दिइएको छ । त्यसैले महिलाहरूले यी सुविधाको सही उपयोग गर्नुपर्छ । गर्भवती भएपछि समयमै स्वास्थ्य संस्थामा गएर उपचार लिनुपर्छ । सरकारले तोकेको तालिकाअनुसार गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गराउनुपर्छ । आवश्यक जाँच, औषधी र परामर्श लिनुपर्छ । यसो गर्न सकियो भने आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो राख्न सकिन्छ ।

गर्भावस्थामा देखिन सक्ने जटिलता र जोखिमका विषयमा महिलाहरूलाई परामर्श दिँदा के-कस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल आउनुपर्छ भनेर सम्झाउनुहुन्छ ?

गर्भावस्थाको सुरुदेखि नै नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । पहिलो पटक स्वास्थ्य संस्थामा आउँदा रगत जाँचलगायत आवश्यक जाँच गरिन्छ । सुगर, प्रेसर र अन्य स्वास्थ्य समस्या छन् कि छैनन् भनेर हेर्नुपर्छ । गर्भवती महिलालाई टाउको दुख्ने, मुटु पोल्ने, वाकवाकी लाग्ने वा रक्तचाप बढ्ने जस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ । त्यस्तै, गर्भावस्थाको पाँच महिनापछि बच्चा नचलेमा वा चल्न छाडेमा, रगत देखिएमा अथवा पानी बगेमा तुरुन्तै स्वास्थ्य संस्थामा आउनुपर्छ ।

बच्चाको चालमा असामान्य परिवर्तन आएमा पर्खेर बस्नु हुँदैन । कुनै समस्या देखिएमा समयमै अस्पताल आउनुपर्छ भनेर हामीले गर्भवती महिलालाई परामर्श दिने गरेका छौं । खानपानमा ध्यान दिन र नियमित स्वास्थ्य जाँच गराउन पनि सम्झाउँछौं । गर्भावस्थामा सकेसम्म पोषिलो र सन्तुलित खाना खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा, जस्तै दाल, मासु, अण्डा, सागसब्जी तथा झोलिलो खानेकुरा खानुपर्छ । शरीरलाई आवश्यक पोषक तत्त्व पुग्ने गरी खानपान गर्नुपर्छ । यसले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो राख्न सहयोग गर्छ ।

सरकारी अस्पतालप्रति सर्वसाधारणको धारणा सुधार गर्न र स्वास्थ्य सेवाको सही उपयोग गर्न आम नागरिकलाई के अपिल गर्न चाहनुहुन्छ ?

अहिले सरकारले महिलाहरूका लागि धेरै सुविधा उपलब्ध गराएको छ । कहिलेकाहीँ हामीले पाएको सुविधाको महत्त्व बुझ्दैनौं । त्यसैले महिला दिदीबहिनीहरूले समयमै उपचार लिनुपर्छ । आफ्नो शरीरमा कुनै समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आएर चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

घरमै रोग लुकाएर बस्नु हुँदैन । हाम्रो समाजमा अझै पनि लाज मान्ने, आफ्नो समस्या अरूलाई नभन्ने र उपचारका लागि समय नदिने प्रवृत्ति छ । कतिपयले खेतीपातीको काम सकाएर जाउँला, धान काटेर जाउँला भन्ने सोच्नुहुन्छ । कतिपयसँग पैसा नभएर खसीबाख्रा बेचेर उपचार गराउनुपर्छ भन्ने अवस्था पनि हुन सक्छ । तर, स्वास्थ्य समस्या देखिएपछि त्यसलाई बेवास्ता गरेर बस्नु हुँदैन । समयमै उपचार गराउनुपर्छ । सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवाको सही उपयोग गर्नुपर्छ । यसो गर्न सकियो भने गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षित राख्न र मातृ मृत्यु घटाउन सहयोग पुग्छ ।

Share News