१७ वटा सोलार आयोजना बनाउँदै माउन्टेन होल्डिङ्स

काठमाडौं । नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्ने लक्ष्यसहित माउन्टेन सोलार होल्डिङ्स प्राइभेट लिमिटेडले पश्चिम नेपालका विभिन्न जिल्लामा कुल २३० मेगावाट क्षमताका सौर्य विद्युत् आयोजना विकास गर्ने योजना अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सौर्य आयोजना विकासका लागि सबैभन्दा धेरै आशयपत्र (एलओआई) प्राप्त गरेको कम्पनीले १० जिल्लाका १७ स्थानमा ग्रिडमा जोडिने आयोजना विकास गर्न लागेको जनाएको छ ।

कम्पनीको योजनाअनुसार प्रस्तावित आयोजनाको क्षमता ५ मेगावाटदेखि २५ मेगावाटसम्म छ । बर्दिया, बाँके, दाङ, बागलुङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत, नवलपरासी र तनहुँमा आयोजना विकास गर्ने योजना रहेको छ । यी आयोजनामार्फत सौर्य ऊर्जाबाट विद्युत् उत्पादन विस्तार गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।

सन् २०२४ डिसेम्बर अर्थात् २०८१ मंसिरमा स्थापना भएको माउन्टेन सोलार नवीकरणीय ऊर्जा आयोजना विकासमा केन्द्रित कम्पनी हो । ठूला क्षमताका सौर्य विद्युत् आयोजना विकास तथा सञ्चालनमार्फत नेपालको स्वच्छ र दिगो ऊर्जा रूपान्तरणमा योगदान पु¥याउने लक्ष्य लिएको कम्पनीको आयोजनासम्बन्धी कामको नेतृत्व प्रमुख कार्यकारी अधिकृत बिजेन्द्र एमएस बस्न्यातले गर्दै आएका छन् ।

कम्पनीले अघि बढाएका अधिकांश आयोजनाका लागि छुट्टाछुट्टै विशेष प्रयोजन कम्पनी स्थापना गरिएका छन् । यस्ता कम्पनीलाई सम्बन्धित आयोजनाको विकास, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी दिइएको छ । अधिकांश आयोजना कम्पनीमा माउन्टेन सोलार होल्डिङ्सको ६९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणका सबस्टेसनमा जोडिनेछ । विद्युत् निकासका लागि ३३ केभी प्रसारण लाइन प्रयोग गर्ने तथा ग्रिड सबस्टेसनमा १३२ केभी र डीसीएस सबस्टेसनमा ३३ केभी भोल्टेजमा अन्तरसम्बन्ध कायम गर्ने योजना छ । प्रत्येक आयोजनाबाट वार्षिक औसत १९ हजार मेगावाट घण्टा स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

१० जिल्लामा १७ आयोजना

माउन्टेन सोलारको योजनामा बर्दियामा बडैयाताल सोलार, कृष्णसार सोलार र बर्दिया सोलार गरी तीन आयोजना छन् । यी प्रत्येक आयोजनाको क्षमता १० मेगावाट छ । बाँकेमा बबई सोलार र बागेश्वरी सोलारका नाममा १०-१० मेगावाटका दुई आयोजना प्रस्तावित छन् । दाङमा १० मेगावाटको महाभारत सोलार र बागलुङमा २० मेगावाटको ढोरबाराही सोलार आयोजना विकास गर्ने योजना छ ।

कपिलवस्तुमा पाँच आयोजना प्रस्तावित छन् । लुम्बिनी सोलार, बाणगंगा सोलार, तिलौराकोट सोलार र लर्ड बुद्ध सोलार प्रत्येक १० मेगावाटका हुनेछन् भने मायादेवी सोलारको क्षमता ५ मेगावाट रहनेछ ।

त्यसैगरी, अर्घाखाँचीमा २० मेगावाटको सुपादेउराली सोलार, गुल्मीमा २० मेगावाटको रेसुङ्गा सोलार, पर्वतमा २० मेगावाटको कामधेनु सोलार, नवलपरासीमा २५ मेगावाटको दाउन्नेदेवी सोलार र तनहुँमा २० मेगावाटको देवघाट सोलार आयोजना विकास गर्ने योजना छ । यी सबै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएमा कम्पनीको सौर्य विद्युत् उत्पादन पोर्टफोलियो २३० मेगावाट पुग्नेछ । 

आयोजनामा अर्बौंको लगानी 

कम्पनीका विभिन्न आयोजना हेर्दा प्रतिमेगावाट लागत करिब ७ करोड ३७ लाखदेखि ७ करोड ७२ लाख रुपैयाँसम्म अनुमान गरिएको छ । आयोजनाको आकारअनुसार लगानी फरक भए पनि अधिकांश परियोजनामा कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजीबाट जुटाउने योजना छ ।

लुम्बिनी सोलारको १० मेगावाट आयोजनाको लागत ७४ करोड ९६ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाका लागि करिब ५६ करोड २२ लाख रुपैयाँ ऋण जुटाउने प्रस्ताव छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले आवश्यक पुँजीको करिब १६ प्रतिशत मात्रै लगानी गरेको विवरण छ । सन् २०२६ जुनको मध्यसम्म आयोजनाको वित्तीय प्रगति करिब ३ प्रतिशत रहेको थियो । आयोजनाको व्यावसायिक सञ्चालन मिति सन् २०२७ जुन १० तोकिएको छ । आयोजना कपिलवस्तुको कृष्णनगर नगरपालिकामा निर्माण भइरकेको छ । 

बर्दियाको गुलरिया नगरपालिकामा निर्माण भइरहेको १० मेगावाटको कृष्णसार सोलार आयोजनाको अनुमानित लागत ७५ करोड रुपैयाँ छ । प्रस्तावित वित्तीय संरचनाअनुसार करिब ५६ करोड २२ लाख रुपैयाँ ऋण र १८ करोड ७८ लाख रुपैयाँ प्रवद्र्धकको पुँजीबाट जुटाउने योजना छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले कुल आवश्यक पुँजीको करिब २२ प्रतिशत लगानी गरिसकेका छन् । आयोजनाको वित्तीय प्रगति सन् २०२६ जुनको मध्यसम्म करिब ३ प्रतिशत रहेको र संशोधित व्यावसायिक सञ्चालन मिति सन् २०२७ जुन १० तोकिएको छ ।

गोरखा नगरपालिका-१४ मा निर्माण भइरहेको २० मेगावाटको देवघाट सोलार आयोजनाको लागत १ अर्ब ५१ करोड रुपैयाँ अनुमान गरिएको छ । यस आयोजनाका लागि करिब १ अर्ब १३ करोड २५ लाख रुपैयाँ ऋण र ३७ करोड ७५ लाख रुपैयाँ प्रवद्र्धकको पुँजी आवश्यक पर्ने प्रस्ताव छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले कुल आवश्यक पुँजीको करिब २३ प्रतिशत लगानी गरेको विवरण छ । आयोजनाको वित्तीय प्रगति सन् २०२६ जुनको मध्यसम्म करिब ३ प्रतिशत रहेको थियो । यसको संशोधित व्यावसायिक सञ्चालन मिति सन् २०२७ डिसेम्बर १० तोकिएको छ ।

नवलपरासीमा प्रस्तावित २५ मेगावाटको दाउन्नेदेवी सोलार आयोजनाको अनुमानित लागत १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ छ । प्रस्तावित वित्तीय संरचनाअनुसार करिब १ अर्ब ४२ करोड ४२ लाख ५० हजार रुपैयाँ ऋण र ४७ करोड ४७ लाख ५० हजार रुपैयाँ प्रवद्र्धकको पुँजी आवश्यक पर्छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले कुल आवश्यक पुँजीको करिब २२ प्रतिशत लगानी गरिसकेको विवरण छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ ऋण लिएको विवरण पनि उपलब्ध गराइएको छ ।

बर्दियाको बाँसगढी नगरपालिकामा प्रस्तावित १० मेगावाटको बर्दिया सोलार आयोजनाको अनुमानित लागत ७६ करोड रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड ९८ लाख रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको विवरण छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले आवश्यक स्वपुँजीको करिब २१ प्रतिशत लगानी गरिसकेका थिए भने जुनको मध्यसम्म आयोजनाको वित्तीय प्रगति करिब ३ प्रतिशत थियो । आयोजनाको संशोधित व्यावसायिक सञ्चालन मिति सन् २०२७ जुन १० तोकिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-४ मा निर्माण भइरहेको १० मेगावाटको बाणगंगा सोलार आयोजनाको अनुमानित लागत ७७ करोड २० लाख रुपैयाँ छ । यसका लागि करिब ५७ करोड ९० लाख रुपैयाँ ऋण र १९ करोड ३० लाख रुपैयाँ स्वपुँजी आवश्यक पर्ने अनुमान छ । सन् २०२६ अगस्टको मध्यसम्म संस्थापकहरूले आवश्यक स्वपुँजीको करिब ४४ प्रतिशत लगानी गरिसकेका थिए । तर, सन् २०२६ जुनको मध्यसम्म आयोजनाको वित्तीय प्रगति करिब ३ प्रतिशत मात्रै थियो । आयोजनाको संशोधित निर्माण लक्ष्य सन् २०२७ जुलाई ३ तोकिएको छ ।

बागेश्वरी सोलार आयोजनाको क्षमता १० मेगावाट र अनुमानित लागत ७६ करोड २० लाख रुपैयाँ रहेको विवरण छ । कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । सन् २०२६ अगस्टको मध्यसम्म संस्थापकहरूले आवश्यक स्वपुँजीको करिब २२ प्रतिशत लगानी गरेको विवरण छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड १६ लाख रुपैयाँ ऋणका लागि प्रक्रिया अघि बढाएको उल्लेख छ । आयोजनाको लक्ष्य मिति सन् २०२७ जुन १० र सन् २०२६ जुनको मध्यसम्मको वित्तीय प्रगति करिब ३ प्रतिशत रहेको विवरण दिइएको छ ।

बडैयाताल सोलारको १० मेगावाट आयोजनाको अनुमानित लागत ७३ करोड ७० लाख रुपैयाँ छ । आयोजना निर्माणका लागि ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजी जुटाउने योजना रहेको छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले आवश्यक स्वपुँजीको करिब २३ प्रतिशत लगानी गरिसकेका थिए । आयोजनाको संशोधित व्यावसायिक सञ्चालन मिति सन् २०२७ जुन १० तोकिएको छ भने सन् २०२६ जुनको मध्यसम्म वित्तीय प्रगति करिब ३ प्रतिशत रहेको विवरण छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५५ करोड २५ लाख रुपैयाँ ऋणका लागि प्रक्रिया अघि बढाएको छ ।

बबई सोलारको १० मेगावाट आयोजनाको लागत ७७ करोड २० लाख रुपैयाँ अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजीबाट जुटाउने योजना छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले आवश्यक स्वपुँजीको करिब २२ प्रतिशत लगानी गरिसकेका थिए । आयोजनाको लक्ष्य मिति सन् २०२७ जुन १० तोकिएको छ भने सन् २०२६ जुनको मध्यसम्म वित्तीय प्रगति करिब ३ प्रतिशत थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ८३ लाख रुपैयाँ ऋणका लागि प्रक्रिया अघि बढाएको विवरण छ ।

दाङको शान्तिनगर गाउँपालिका-६ मा निर्माण भइरहेको १० मेगावाटको महाभारत सोलार आयोजनाको लागत ७७ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजीबाट जुटाउने योजना छ । सन् २०२६ अगस्टको मध्यसम्म प्रवद्र्धकहरूले आवश्यक स्वपुँजीको करिब १६ प्रतिशत लगानी गरिसकेका थिए । आयोजनाको संशोधित लक्ष्य मिति सन् २०२७ जुन १० रहेको छ भने सन् २०२६ जुनको मध्यसम्म वित्तीय प्रगति करिब ३ प्रतिशत मात्रै थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ८१ लाख रुपैयाँ ऋणका लागि प्रक्रिया अघि बढाएको विवरण दिएको छ ।

Share News