काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ । नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नवरात्रको पहिलो दिन असोज २५ गते दसैँघर तथा पूजाकोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ। यी नौ देवीलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । शक्तिपीठमा गई पूजा आराधना तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुखशान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा जमरा लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।
पौराणिक ग्रन्थहरूमा स्कन्दमाताका विषयमा विभिन्न प्रसङ्ग उल्लेख छन् । धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् शिवकी पत्नी पार्वतीको एक स्वरूप हुन्। ‘स्कन्द’ भगवान् कार्तिकेयको नाम हो । उनी कार्तिकेयकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो ।
स्कन्दमाताको प्रतिमामा उनलाई सिंहासनमा विराजमान तथा दुवै हातमा कमलका फूल लिएकी देवीका रूपमा चित्रण गरिएको पाइन्छ। उनको पूजा आराधनाले भक्तजनलाई सुख, शान्ति, शक्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
छान्दोग्य उपनिषद्मा सनत्कुमारको प्रसङ्ग उल्लेख भए पनि पार्वतीले ऋषि सनत्कुमारलाई श्राप दिएर ऊँट बनाएको र पछि उनलाई पुत्रका रूपमा जन्म दिएको कथालाई स्कन्दमाताको नामसँग जोड्ने विवरण प्रचलित धार्मिक कथनमा पाइन्छ ।