पशुपतिका ढोकादेखि मन्दिर परिसरसम्म चिटिक्क, तेस्रो साता पनि चल्यो सफाइ

काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत तीन हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । 

सफाइको तेस्रो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।

शनिबार (आज) को सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए । 

भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधिस्थललगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । 

सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए । 

यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको ११, १८ र २५ गते पनि सोमबार परेको छ । 

बाँकी तीन वटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।

Share News