काठमाडौं । बोरा भित्र पोका पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान ११ बजे झापा दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको बोरामा पोको पारेको अवस्थामा शव फेला परेको हो ।
नामथर र ठेगाना नखुलेको दुई तीन दिन अगाडि देखि शव पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार अन्दाजी ३०- ३२ वर्षकी महिलाले रातो भेष्ट र जिन्सको पेन्ट लगाएको जस्तो देखिएको छ ।
महिलाको शव सेतो पलाष्टिकको बोरामा पोको पारी संकास्पद अवस्थामा फेला परेको खड्काले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसंधान भइरहेको उनले बताए ।
उनका अनुसार मृतकको हालसम्म पहिचान खुलेको छैन । सनाखत समेत नभएकाले मृतकलाई चिन्नु हुने अभिभावक, आफन्तजन, साथी भाइ तथा छर छिमेकहरूले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।